घर कर्जामा राष्ट्र बैंकको लचक नीति, पहिलेभन्दा धेरै ऋण लिन पाइने

काठमाडौं । मौद्रिक नीतिको समीक्षा मार्फत् घर कर्जालाई पनि राष्ट्र बैंकले सहज बनाइदिएको छ । नयाँ नीतिले ‘रु. ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीतिको नयाँ संस्करणमा भनिएको छ ।
अब ऋणीले हरेक महिना प्राप्त गर्ने तलव वा आम्दानीको ६० प्रतिशत बराबर किस्ता तिर्ने गरी कर्जा लिन पाउने भएका छन् । यसअघि मासिक आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम किस्ताका लागि छुट्याउन नपाइने व्यवस्था थियो । त्यसो हुँदा ऋणीले प्राप्त गर्ने कर्जाको आकार स्वतः खुम्चिन गएको थियो ।
राष्ट्र बैंकको यस नीतिले पहिले जति नै तलव वा आम्दानी गर्ने व्यक्तिले पनि अब बढी रकम ऋण लिन सक्ने भएका छन् । महिनाको १ लाख कमाउने व्यक्तिले यसअघि जम्मा ५० हजार रुपैयाँमात्रै बैंकको किस्तामा तिर्न पाउँथ्यो भने अब ६० हजार रुपैयाँ किस्ता तिर्न पाउने भएको छ ।
यसले उसको कर्जा क्षमता विस्तार हुन्छ । ७ वर्षको घर कर्जा लिने व्यक्तिले अव पहिलेभन्दा साढे ८ लाख रुपैयाँ बढी भुक्तानी गर्न सक्ने गरी कर्जाको आकार बढाउन सक्ने भएका छन् । यस्तो नीतिले घर निर्माणले गति लिएर निर्माण क्षेत्रलाई मद्दत गर्नसक्ने आँकलन राष्ट्र बैंकको छ ।