आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा कर लाग्दैनः राजश्व विभाग
काठमाडौँ । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर नलाग्ने प्रष्ट पारेको छ ।
विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका थिए । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।