मंसिरमा राजस्व संकलन उल्लेख्य सुधार, कसरी उठ्यो पोहोरभन्दा ४१ प्रतिशत बढी ? « Arthapath.com
१ पुष २०८०, आईतवार

मंसिरमा राजस्व संकलन उल्लेख्य सुधार, कसरी उठ्यो पोहोरभन्दा ४१ प्रतिशत बढी ?



काठमाडौं । सरकारले मंसिर महिनामा राजस्व संकलनमा उल्लेख्य सुधार गरेको छ । यो मंसिरमा सरकारले ८८ अर्ब २७ करोड राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तरगतको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)का अनुसार उक्त राजस्व मासिक लक्ष्यको करीब ९२ प्रतिशत हो । मंसिरमा ९६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

मंसिर मसान्त आर्थत् गत शनिबारमात्रै १६ अर्ब ३५ करोड राजस्व संकलन भएको छ । यसमध्ये केही हिस्सा एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिमा लगाइएको ‘बार्गेन पर्चेज गेन’को कर समेत समावेश छ । यस्तो करबाट महिनाका अन्तिम दुई दिनमा करीब १३ अर्ब राजस्व उठेको छ । यसरी उठेको राजस्वलाई छाड्ने हो भने पनि नियमित रुपमा मंसिरको राजस्व संकलन अघिल्लो सालको तुलनामा २० प्रतिशत बढ्ने नै थियो ।

अदालतले भूतप्रभावि कानुन बनाएर राजस्व संकलन गर्नसक्ने व्यवस्थालाई सही ठहराएपछि मंसिरको वास्तविक राजस्व संकलन गत सालको तुलनामा ४१.३९ प्रतिशत बढेको हो । यससँगै मंसिरसम्म आउँदा राजस्वको लक्ष्य र प्राप्तीबीच केवल २० प्रतिशतको अन्तर देखिएको छ ।

कात्तिकसम्म आउँदा सरकारको लक्ष्यको ७६ प्रतिशतमात्रै राजस्व उठेकोमा मंसिर बित्दाबित्दै ७९.४१ प्रतिशत पुगेको छ । यसले अर्थतन्त्रका अन्य क्षेत्रजस्तै राजस्वमा पनि क्रमिक सुधारले गति लिइएको देखाएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तो छ राजस्वको आँकडा

  • वार्षिक लक्ष्यः १४ खर्ब २२ अर्ब ५४ करोड
  • मंसिरसम्मको लक्ष्यः ४ खर्ब ८० अर्ब
  • मंसिर महिनाको लक्ष्यः ९६ अर्ब
  • मंसिर महिनाको संकलनः ८८ अर्ब २७ करोड
  • मंसिर ३० गतेको संकलनः १६ अर्ब ३५ करोड
  • मंसिरसम्मको संकलनः ३ खर्ब ८१ अर्ब १७ करोड

गत साल २०७९/८० को आँकडा

  • मंसिर महिनाको संकलनः ६२ अर्ब ४३ करोड
  • मंसिरसम्मको संकलनः ३ खर्ब ५४ अर्ब ४१ करोड


प्रतिक्रिया दिनुहोस्