नेपाल भारत विद्युत् ब्यापार सम्झौतालाई इप्पानको स्वागत, निजी लगानी बढाउन सरकारसँग आह्वान « Arthapath.com
२२ पुष २०८०, आईतवार

नेपाल भारत विद्युत् ब्यापार सम्झौतालाई इप्पानको स्वागत, निजी लगानी बढाउन सरकारसँग आह्वान



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल र भारतबीच भएको विद्युत ब्यापारसम्बन्धि सम्झौतालाई स्वागत गरेको छ । यसबाट नेपालको विद्युतको बजार सुनिश्चितता भएको भन्दै इप्पानले अब रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) लाई पूर्ण रुपमा खुल्ला गर्न नेपाल विद्युत प्राधिकरण तयार हुनुपर्ने इप्पानले बताएको छ ।

आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर इप्पानले यस्तो धारणा अघि सारेको हो । पीपीएलाई पूर्ण रुपमा खुला गरिए देशको ऊर्जा विकासमा आगामी दिनका महत्वपूर्ण अवसरहरु सिर्जना हुने जलविद्युत उद्यमीहरुले बताएका छन् । उक्त दुईदेशीय सम्झौताले नेपाललाई ऊर्जा विकासमा अग्रसर बनाउन थप ढोकाहरु खुल्दै जाने व्यवसायीको भनाइ छ ।

यसले नेपाल र भारतबीचको विजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने इपानको भनाइ छ ।

अहिले अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ। यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिद्युत निर्यातमा पनि निजी क्षेत्रको महत्वपूर्ण योगदान हुने इप्पानले विस्वास व्यक्त गरेको छ । ‘बिजुली निर्यात गर्नका लागि निजी क्षेत्रको संलग्नताविना असम्भवनै छ, यसका लागि निजी क्षेत्र पनि तयार रहनुपर्छ’ इप्पानले एक बक्तव्यमा भनेको छ ।

निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक एवम् प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय भई तुरुन्तै अघि बढ्ने हो भने देशको अथर्ततन्त्र छिट्टै नै उच्च बृद्धिको बाटोमा जाने इप्पानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्