कर प्रशासनमा चार्टड एकाउण्टेन्टलाई प्रवेश गराउन सरकार तत्पर

काठमाडौं । सरकारले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवेश गराउने योजना अघि सार्ने भएको छ । नेपालमा लामो समयदेखि राजस्व छलिको विषयहरु उठिरहेको र त्यस प्रकारको कर छलिमा सीएहरुको महत्वपूर्ण भूमिका रहेको टिप्पणी हुँदै आएका थिए ।
कर्पोरेट कर होस् वा अन्तरराष्ट्रिय ब्यापार, सीमा नाकाबाट हुने अबैध कारोबारजस्ता क्षेत्रलाई नियन्त्रण गर्न चार्टर्ड एकाउण्टेन्टहरुको उपयोग गर्नु पर्ने तर्क अर्थशात्री विश्वास गौचन लगायतले उठाउँदै आएका थिए । विहीबार एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि कर प्रशासनमा सीएहरुलाई भित्र्याउन आफू सकारात्मक रहेको बताएका छन् ।
चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘चार्टड एकाउण्टेन्टहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारी पूर्वक वहन गर्ने हो भने मुलुकको सुशासन सुनिश्चित छ ।’
उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने भन्दै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्नुपर्ने बताए । ‘प्रतीज्ञा गरेको कुरा सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टर्डमा ठीक हुने बित्तिकै धेरै कुरा ठीक ठाउँमा आउँछ’, उनले भने, ‘बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन प्राविधिक गल्तिका कारण हो, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।’