तीन महिनाको अनुसन्धानपछि कीर्ते र ठगीमा मुद्दा चलाउने गरी पक्राउ गरिएका थिए अरुण चौधरीः सीआईबी « Arthapath.com
१९ माघ २०८०, शुक्रबार

तीन महिनाको अनुसन्धानपछि कीर्ते र ठगीमा मुद्दा चलाउने गरी पक्राउ गरिएका थिए अरुण चौधरीः सीआईबी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी अरुण चौधरी समेत तीन जनालाई कीर्ते कागजात र ठगी अन्तरगत मुद्दा चलाउन लागेको बताएको छ । शुक्रबार सीआईबीले पत्रकार सम्मेलन गरेर यस मुद्दाका बारेमा जानकारी दिएको हो । सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजितनारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता गरेका थिए । सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो ।

तर जम्मा १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले कुल २६ लाखभन्दा बढी रकम लगानी गरेको पाइएको प्रहरीले जनाएको छ । उता २५ लाख ५० हजार लगामनी गर्नुपर्ने चौधरीले भने जम्मा ८ लाख मात्रै लगानी गरेको देखिन्छ । बाँकी २४ प्रतिशत स्वामित्व सर्वसाधरणलाई बेच्ने भने पनि यो कम्पनीले सार्वजनिक सेयर निष्काशन नै नगरेको प्रहरीले जनाएको छ ।

बरु उल्टै बाँसबारीको १० रोपनी जग्गा प्राप्त गरेपछि चौधरी समूहले च्याम्पियन फुटवेयर कम्पनी नै बन्द गरिदिएको अनुसन्धानका क्रममा पाईएको प्रहरीले भनेको छ । उक्त कम्पनीमा रहेको सरकारी शेयर पनि अरुण चौधरीले नै किनेको प्रहरीले जनाएको छ । यसबाट सिंगो योजना नै त्यहाँ जुत्ता कारखाना सञ्चालन गरेर सेयर अनुसार लगानी गर्ने भन्दा पनि ‘जग्गा हडप्ने’ उद्देश्य द्वारामात्रै यी सबै गतिविधी भएको देखिएको प्रहरीले जनाएको छ ।

सीआईबीले उक्त मुद्दामा ती तीन जनालाई अकस्मात् गिरफ्तार नगरेको प्रस्ट्याएको छ । उनीहरुलाई तीन महिना लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको सीआईबीले बताएको छ । यसअघि विहीबार चौधरी पक्राउ परेको केही घण्टाभित्रै नेपाल उद्योग परिसंघले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेर प्रहरीले ‘हठात पक्राउ गरेको’ भन्दै विरोध जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्