सोल्टी होटलको आम्दानी ६ महिनामै १ अर्ब नाघ्यो, कति कमायो नाफा ?

काठमाडौं । सोल्टी होटलले ६ महिनामै १ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा होटलको आम्दानी १ अर्ब ५ करोड ८ लाख २३ हजार रुपैयाँ पुगेको छ । होटलको यो आम्दानी गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ९.४४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा होटलको आम्दानी ९६ करोड १ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
आम्दानी बढेसँगै होटलको नाफा पनि वृद्धि भएको छ । गत वर्षको दोस्रो त्रैमासमा २५ करोड १४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने ४.६४ प्रतिशत बढेर २६ करोड ३१ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा होटलको संचालन आम्दानी पनि ३.८२ प्रतिशत बढेर ३१ करोड ७९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । होटलको कुल खर्च पनि दोहोरो अंकले बढेको छ । समिक्षा अवधिमा होटलको यस्तो खर्च १२.०८ प्रतिशत बढेर ७३ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
हाल होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ छ । होटलको रिटेन्ड अर्निङ्ग तथा जगेडा कोषमा भने १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ छ ।
समिक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी (इपिएस) पनि ५ रुपैयाँ ९५ करोड रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने २६ रुपैयाँ ७८ पैसा छ ।