नयाँ गठबन्धनलाई कार्यकर्ता ‘भर्ति’ गर्ने गजबको मौका, भागबण्डामा कसले मार्ला बाजी ? « Arthapath.com
२९ फाल्गुन २०८०, मंगलवार

नयाँ गठबन्धनलाई कार्यकर्ता ‘भर्ति’ गर्ने गजबको मौका, भागबण्डामा कसले मार्ला बाजी ?



काठमाडौं । सरकारमा गठबन्धन फेरिएसँगै यसको झड्का वित्तीय क्षेत्रमा पनि पर्ने देखिएको छ । यो गठबन्धन अब कम्तिमा एक वर्ष टिक्यो भने वित्तीय क्षेत्रका प्रमुख पदहरुमा नियुक्ति गर्ने अवसर पाउने छ । यसैबीचमा नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंकदेखि थुप्रै स्रोतसम्पन्न संस्थाहरुमा नियुक्ति गर्ने मौका यो सरकारले पाउने भएको छ ।

तर त्यस्ता नियुक्तिमा भागबण्डाले कति गहिरो रुप लिनसक्छ भन्ने अहिले नै यकिन गर्न कठीन हुने जानकार बताउँछन् । सम्भवतः यसको सुरुआत भने धितोपत्र बोर्डको अध्यक्षबाट हुने छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नयाँ गठबन्धनका लागि एक आकर्षक नियुक्ति हुने छ । अपदस्थ अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकालका लागि नेतृत्व गर्न आएका रमेश हमाल पनि बाहिरिइसकेका छन् । हमालको कार्यकाल गत पुस २० मा सकिएको छ । पछिल्लो समय जलविद्युत् र वास्तविक (उत्पादनमुलक) क्षेत्रका कम्पनीहरु शेयर बजारमा सूचीकृत हुने लहर चलेपछि यो पद अब ‘मालदार’ बन्न थालेको जानकार बताउँछन् ।

त्यसमाथि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने कि नदिने भन्ने विबाद नसल्टिएको अवस्थामा यस पदले राजनीतिक बृत्तमा मात्रै होइन, कर्पोरेट द्वन्द्वका बीचमा पनि नयाँ परिदृष्य दिन सक्छ । उसको नियमन क्षेत्रमा धेरै कम्पनीहरु आउन थालेपछि सेबोनको कद उँचो भएको छ । यसले वित्तीय क्षेत्रका नियामकमा सेबोनको हैसियत उचालिएको छ ।

यस्तो पदमा अब आफू अनुकुलको पात्रलाई नियुक्त गर्न नेकपा माओबादी केन्द्रले बढी प्रयास गर्नसक्ने संभावना छ । यो पद सकेसम्म नगुमाउने प्रयास एमालेले पनि गर्ने छ । भर्खरैमात्र राष्ट्रिय सभाको अध्यक्ष माओबादीलाई दिन सहमत भएको एमाले यस प्रकारका नियामकीय प्रमुखहरुमा आफ्नो दाबी छाड्ने पक्षमा छैन ।

जे होस्, केही विशिष्ट पदहरुको भागबण्डामा गठबन्धनभित्र राम्रै माथापच्चिसी हुनसक्ने आँकलन सम्बद्ध व्यक्तिहरुले गरेका छन् । यद्यपि, गठबन्धनमा कुनै दरार नआए यस प्रकारका नियुक्ति र भर्तिमा नयाँ गठबन्धनलाई सुन्दर मौका मिल्ने भएको छ । फलस्वरुप वित्तीय क्षेत्रमात्रै होइन धेरैतिर बामपन्थीहरुको वर्चश्व स्थापिन हुने देखिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सीईओ शंकर रायमाझीको कार्यकाल गत पुस ११ मा सकिएपछि त्यहाँ सीईओ पद खाली छ । नयाँ सीईओ भर्ति गर्नका लागि खुलाइएको दरखास्तमा ७ जनाले आवेदन दिएका छन् । पछिल्लो समय नियामक निकायले पूँजी बृद्धि गर्नुपर्ने प्रस्ताव गरेका कारण यो कम्पनीको वासलात निकै ठूलो हुने अवस्था छ ।

वर्षौंको एकाधिकार गुमाए पनि कम्पनीले स्वेदेशी र विदेशी बीमा बजारमा उपस्थिति बढाउँदै लगेका कारण यो कम्पनीको व्यवस्थापकीय पदमा चार्म बढ्न थालेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पनि तीन महिनादेखि खाली छ । कवि पाठक बाहिरिएपछि त्यहाँ अझैसम्म नयाँ सीईओ नियुक्तिको प्रक्रिया सुरु नै गरिएको छैन । करीब डेढ वर्षअघिमात्रै त्यहाँ अध्यक्ष भएर आएका ईश्वर पौडेल माओबादी समर्थित हुन् । त्यसैले यसअघि कांग्रेसको अर्थमन्त्री भएका कारण ‘माहोल नमिलाई’ सीईओ नियुक्ति प्रक्रिया अघि नबढाउन कम्पनी सम्बद्ध ट्रेड युनियनले दबाब दिएको अधिकारीहरु बताउँछन् । यही कारण विगतमा सीईओ नियुक्तिको प्रक्रियामा ढिलाई हुँदै आएको भए पनि अब माओबादीकै अर्थमन्त्री आएपछि प्रक्रिया अघि बढ्नसक्ने अनुमान गरिएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा सीईओ शेखर बरालले राजिनामा दिएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन सकेको छैन । गत माघ २४ गते २१ दिने सूचना प्रकाशित गरेर नयाँ सीईओका लागि आह्वान गरेको भए पनि उक्त प्रक्रिया अघि बढाउने कि रद्द गर्ने भन्ने टुंगो लागेको छैन ।

राष्ट्रिय बाणिज्य बैंकको सीईओ किरणकुमार श्रेष्ठको कार्यकाल आगामी चैत अन्तिममा सकिँदै छ । दुई कार्यकाल सीईओ रहिसकेका उनी मौका मिलेसम्म राष्ट्र बैंकको गभर्नर बन्ने दाउमा छन् । तर उनको पद खालि हुने छ । देशको सबैभन्दा ठूलो वित्तीय स्रोतमा नियन्त्रण भएको यो बैंकको कार्यकारी प्रमुख पनि नयाँ गठबन्धनको ‘भागबन्डा’मा हिस्सेदार हुनसक्छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद पनि खालि छ । गैर आर्थिक क्षेत्र भए पनि यो महत्वपूर्ण संस्थान हो । सूचना प्रविधिमा हुने खरीदलाई आकर्षणको रुपमा हेर्ने गरिएको छ । नेपाल टेलिकमभन्दा पनि ज्यादा आकर्षक पद नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष थियो । नेकपा एमालेले नियुक्त गरेका पुरुषोत्तम खनालले भ्रष्टाचार आरोपमा राजिनामा दिएपछि प्रचण्ड सरकारले आफू निकट भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

भर्खरै नियुक्त हुनेमा भण्डारीमात्र छैनन् । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । यसअघि ग्रामीण विकास बैंकको सीईओ भइसकेका राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक कार्की नेपाली कांग्रेस निकट मानिन्छन् । तर देशकै सबैभन्दा पुरानो बैंक नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा भने माओबादीले आफू निकट तीलकराज पाण्डेयलाई नियुक्त गरेको छ ।

यद्यपि, अझै पनि ठूला नियामक निकायको प्रखुम पदहरु खालि हुने रफ्तारमै छन् । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकाल २०८१ माघमा सकिँदै छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल पनि करीब ८ महिनामात्रै बाँकी छ ।

११ महिनापछि नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पद पनि खालि हुँदै छ । चन्द्रसिंह साउदले सर्वोत्तम सिमेण्टको भित्रि कारोबार गरेको आरोपमा राजिनामा दिएपछि बाँकी कार्यकालका लागि भने नियुक्त भएका कृष्णबहादुर कार्कीलाई तीन वर्षको नियुक्ति दिइएको थियो । उनको कार्यकाल आगामी माघमा सकिँदै छ ।

२०८१ चैतमा त नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै कार्यकाल सकिँदै छ । नयाँ गभर्नर नियुक्तिका लागि एक महिनाअघि नै छनोट समिति गठन गर्ने प्रचलन छ । यस कारण अर्को साल फागुनमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया पनि सुरु भइसक्ने छ ।


प्रतिक्रिया दिनुहोस्