नाफामा चम्कियो गरिमा: मुक्तिनाथलाई पच्छ्याउँदै शाइन रेसुङ्गा, घाटामा रहेका विकास बैङ्क कुन-कुन हुन् ? « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

नाफामा चम्कियो गरिमा: मुक्तिनाथलाई पच्छ्याउँदै शाइन रेसुङ्गा, घाटामा रहेका विकास बैङ्क कुन-कुन हुन् ?



काठमाडौं । सात महिनामा विकास बैङ्कहरूले पौने तीन अर्ब खुद नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय स्तर आठ वटासहित १७ वटा विकास बैङ्क सञ्चालनमा छन् । ती बैङ्कहरूले माघ मसान्तसम्ममा २ अर्ब ८५ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा कमाएका हुन् । नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

राष्ट्र बैङ्कका अनुसार विकास बैङ्कको नाफामा गरिमा विकास बैङ्कले टपेको छ । १७ मध्ये गरिमाले सबैभन्दा धेरै ५५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने मुक्तिनाथ विकास बैङ्क छ । मुक्तिनाथले ७ महिनामा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । 

तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ४३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, महालक्ष्मी विकास बैङ्कले ३३ करोड ४० लाख, कामना सेवाले ३१ करोड २३ लाख, लुम्बिनी विकासले २१ करोड १३ लाख, ज्योति विकासले १७ करोड ७६ लाख र साङ्ग्रिला डेभलपमेन्टले १५ करोड ४९ लाख रुपैयाँ खुद कमाएको छ । 

यता, कर्णाली डेभलपमेन्ट बैङ्कले ४ करोड ६४ लाख, मितेरी डेभलपमेन्टले  ४ करोड ४९ लाख, सिन्धु विकास बैङ्कले १ करोड ६८ लाख, ग्रिन डेभलपमेन्टले १ करोड ६० लाख, कर्पोरेट डेभलपमेन्टले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

घाटामा चार विकास बैङ्क

सञ्चालनमा रहेकामध्ये चार वटा विकास बैङ्क घाटामा छन् । एक्सेल डेभलपमेन्ट, सप्तकोसी, नारायणी र सालपा विकास बैङ्क नोक्सानीमा देखिएका हुन् । 

राष्ट्र बैङ्कका अनुसार सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैङ्क घाटामा छ । समीक्षा अवधिमा बैङ्कले १८ करोड ६७ लाख रुपैयाँ नोक्सानीमा देखिएको हो । 

यस्तै, सप्तकोसी पनि १२ करोड १६ लाख रुपैयाँ घाटामा छ । यता, नारायणी ३ लाख र सालपा २ लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् । 


प्रतिक्रिया दिनुहोस्