अब नेपालीलाई चिनियाँ भिसामा शुल्क नलाग्ने

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै भिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको बताए ।
चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित शुल्क अब लाग्ने छैन । दूतावासले एक्सप्रेस–१ का लागि ४०० र एक्सप्रेस–२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस–१ का लागि २ हजार र एक्सप्रेस–२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।