प्रधानमन्त्रीदेखि मन्त्रीसम्म: कोसँग कति छ सुन ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म: कोसँग कति छ सुन ?



काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्रीहरुसँग ८ सय तोला बढी सुन भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरवणले यस्तो देखाएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्था अनुसार पेश भएको सम्पत्ति विवरण मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यालयले सार्वजनिक गरेको छ । विवरणअनुसार प्रधानमन्त्रीसहित २३ जना मन्त्रीहरुसँग ८१९ तोला सुन भएको पाइएको हो । जुन, नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि (जेठ ८ गते मंगलबार) तोकेको मूल्य अनुसार मन्त्रीहरुसँग १ज्ञ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको सुन छ ।

कतिपय मन्त्रीहरु ठुलो परिमाणमा चाँदी र हिरा समेत रहेको विवरणमा उल्लेख गरेका छन् । तर, हामीले सुनको परिमाणमा उल्लेख गरेका छौं । विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ५ तोला सुन (पैतृक) रहेको उल्लेख छ । मन्त्रिपरिषदमा पेश गरिएको सम्पत्ति विवरण अनुसार उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठअर्थमन्त्री वर्षमान पुनले भने सुन नभएको उल्लेख गरेका छन् ।

विवरण हेर्दा सबैभन्दा धेरै सुन वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीसँग १५८ तोला देखिएको छ । यद्यपि यो उनको नभई श्रमती र छोरा बुहारीको रहेको उल्लेख गरेका छन् । हाल उनकी श्रमती सावित्री देवी साहसँग ५६ तोला सुन र ५६० ग्राम चाँदी हरको बताए । यस्तै छोरा सुमित कुमारसँग ३५ तोला सुन रहेको उल्लेख गरेका छन् । यस्तै, बुहारीहरु माधवी भारतीसँग २२ तोला सुन र ३३९ ग्राम चाँदी, शालिनी देवीसँग १७ तोला सुन र २७० ग्राम चाँदी र मञ्जु साहसँग २८ तोला सुन र १७० ग्राम चाँदी रहेको उल्लेख छ । यी सबै विवाहको बेलामा आमावुवा तथा ससुराली तर्फबाट उपहार स्वरुप प्राप्त भएको उल्लेख छ ।

यस्तै, सहकरी विकास मन्त्री धन बहादुर बुढाश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग १५०/१५० तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् । शहरी विकास मन्त्री बुढासँग भएको सुन पैतृक तथा व्यापारबाट आर्जन गरेको बताएका छन् । यसका साथै बुढासँग ३०० तोला चाँदी रहेको पनि विवरणमा उल्लेख गरेका छन्। यता, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका श्रममन्त्री अर्यालसँग १५० तोला सुन बाहेक, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख गरेका छन् । सो परिमाणका सुन, चाँदी हिरा व्यापारबाट प्राप्ति गरेको उल्लेख छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि करिब ८० तोला सुन रहेको सम्पत्ति विवरण पेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समे रहेका लामिछानेसँग ८० तोला सुन (नेकलेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी, बाल लगायत) रहेको उल्लेख गरेका छन् । अधिकांश बुवाआमाबाट प्राप्त गरेको र केही श्रीमती निकिता पौडेलले खरिद गरेको उल्लेख छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ७५ तोला सुन र २५ केजी चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पनि ४३ तोला सुन र १.५० केजी चाँदी (पैतृक तथा उपहार), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग ३१ तोला सुन भएको विवरणमा उल्लेख छ । मन्त्री जोशीले जयलक्ष्मीसँग ४ तोला (पैतृक तथा उपहार) लोकेन्द्र जोशीको नाममा ८८.६६ ग्राम (बिहेको दाइजो), निर्मला कोइरला ३९ ग्राम, रुपमा रताला १६ तोला, चाँदी ६० तोला रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

यता, रक्षा मन्त्री हरि प्रसाद उप्रेतीसँग २५ तोला (पुर्खौली), कानून, न्याय तथा संसदीय मामिल मन्त्री पदम गिरीसँग २३ तोला (पैतृक), युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुना श्रेष्ठसँग ११ तोला सुन रहेको उल्लेख गरेकी छन् । यसका साथै मन्त्री श्रेष्ठसँग १०० तोला चाँदी (उपहार) , हिराको सेट १ सेट १ सेट हिराको टप पनि रहेको विवरणमा खुलाएकी छन् ।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहसँग १० तोला सुन र २५ तोला चाँदी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीसँग १० तोला सुन, खानेपानी मन्त्री राजेन्दै कुमार राइसँग पनि १० तोला सुन र १०० तोला चाँदी (पुर्खौलीबाट प्राप्ति) रहेको उल्लेख गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग ६/६ तोला सुन रहेको विवरणमा उल्लेख छ। यता, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले भने ५ तोला सुन रहेको विवरण पेश गरेका छन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र राज्य मन्त्री हसिना खानले भने सम्पत्ति विवरण बुझाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण प्राप्त नभएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्