रात्रीकालीन व्यवसायीले भने,‘पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपरे व्यवसाय बन्द गछौं’

काठमाडौं । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।
व्यवसायीहरुले आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई विज्ञप्ति बुझाएका छन् । पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा भारी हुने र व्यवसायीलाई भार पर्ने हुँदा रोजगारीमा संकट आइ व्यवसाय नै बन्द गर्ने चेतावनीसहित विज्ञप्ति बुझाएका हुन् ।
व्यवसायीले आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रीकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेकोमा मुख्यमन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सभामुख भुबन पाठक, अर्थमन्त्री , पर्यटन मन्त्री, कानुन मन्त्री ,मुख्य सचिव लगायतका विभिन्न निकायका सचिवहरूलाई समेत बुझाएका थिए ।
व्यवसायीहरूले आर्थिक ऐन २०८० को दफा ५ बमोजिमको अनुसूची–३ लाई संशोधन गरी करको भारबाट मुक्त गराउनसमेत माग गरेका छन् । ‘बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० ले गर्दा व्यवसाय सञ्चालनमा थप कठिनाइ भइ व्यवसायीहरूलाई मार परेको र गम्भीर संकट पैदा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरूत्साहित नहुने गरी कानुन बनाइनुपर्ने विज्ञप्तिमा बताइएको छ । नेपाल सरकारको विद्यमान कर र राजश्व ठूलो भारको रूपमा रहेको व्यवसायीहरूले बताएका छन् ।
प्रदेश सरकारको पाँच प्रतिशत कर तिर्न नसक्ने हुँदा मनोरञ्जन कर वार्षिक २ हजार र १५ सय रूपैयाँ तिर्नेगरी कानुन संशोधन गर्नुपर्ने व्यवसायीले अनुरोध गरेका छन् । नेपाल सरकारको आर्थिक ऐन २०७९ बमोजिम लाग्ने सम्पूर्ण कर तथा राजश्व सम्पूर्ण व्यवसायीले तिर्दै आएको उनीहरुीको दाबी छ । व्यवसायीहरूले नियमित रूपमा आयकर, व्यवसाय कर, राजश्व र नियमित रूपमा गर्नुपर्ने व्यवसायी नवीकरण गरिरहेको बताएका छन् ।
रात्रीकालीन व्यवसायकै कारण २० हजार बढीले रोजगार पाएको दाबी गरिएको छ । करकै कारण यसमा आश्रित कामदारको रोजगारी गुम्ने खतरा रहेको विज्ञप्तिमा उल्लेख छ। विगतमा व्यवसायीले मनोरञ्जन कर स्वरूप क्लबले २ हजार र डान्स बार, दोहोरी लगायतका अन्य व्यवसायले १५ सय रूपैयाँ तिर्दै मुख्यमन्त्रीलाई स्मरण गराएका थिए ।
ठमेल पर्यटन परिषदका अध्यक्ष भबि शर्माको नेतृत्वमा परिषदका उपाध्यक्ष शहदेब धमला, नेपाल रात्रि कालिन व्यवसायी संघका अध्यक्ष रुपेश गुरुङ, नेपाल क्लब तथा डिस्को संघका अध्यक्ष राजु दनाई त था उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोक दोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ लगायत अन्य व्यवसयीहरूले ज्ञापन पत्र बुझाएका थिए ।