पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल भित्रिएका हुन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल भित्रिएका छन् ।
विभागका अनुसार पछिल्लो पाँच महिना यता मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी, अप्रिलमस १ लाख ११ हजार ३७६, फेब्रुअरीमा ९७ हजार ४२६, मे महिनामा ९० हजार २११ र जनवरी महिनामा ७९ हजार १ सय पर्यटक भित्रिएका हुन् ।
विभागका अनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी, चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।
एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना, युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएका छन् ।
यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।