गर्भनरसँग नाडा पदाधिकारीको भेट, मौद्रिक नीतिको बारेमा छलफल
काठमाडौं । नेपाल अटोमोवाइल एसोसिएसन नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ।
उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई माथी आउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गरे ।
उनले आगामी मौद्रिक नीतिमा दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेस गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्न आग्रह गरे।
पेट्रोल र डिजेलबाट चल्ने निजी एवं व्यावसायिक महत्त्वका सवारी साधनलाई छुट्याउन, कालोसूचीमा परेका व्यक्ति वा कम्पनीमाथिको कारबाही फितलो हुने नियम रहेकाले त्यसलाई थप कडा र प्रभावकारी बनाउन आग्रह गरे।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतिय मालवाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनको विक्रीमा ठूलो असर परिरहेको बताउँदै नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योग खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने धारणा राखे।
उनले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा ६ बुँदे लिखित सुझाव गभर्नर समक्ष पेस गरेको नाडाले जनाएको छ।
नाडाबाट प्रस्तुत सुझावहरुका विषयमा प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले अटोमोवाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोवाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताए ।
गभर्नर अधिकारीले अटोमोवाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नु पर्ने भन्दै व्यवसायलाई ठाउँमा ल्याउन नेपाल राष्ट्र बैंकले प्रयास गरिरहेको बताए ।