धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीनै जना अनुपस्थित

काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्षका तीन उम्मेदरवारलाई बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएका छन् । ९ बजेदेखि ११ बजेसम्म बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएको स्रोतले जनाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले ३ जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । तर गत आइतबार बोलाइएको अन्तरवार्ता र प्रस्तुतिकरणमा २ जना प्रत्यासीमात्रै उपस्थिति भएपछि पुन आज अन्तर्वार्ताका लागि बोलाइएको थियो ।
सिफारिस समितिले पुन बुधबारलाई अन्तरवार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको छ । आज नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई आज बोलाइएको थियो ।
यसमध्ये कुनै एक जनामात्रै प्रस्तुतीकरणमा सहभागि भए पनि नियमानुसर सिफारिस समितिले काम गर्न सकिने अवस्था थियो । तर उम्मेदवार नै अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अन्योल भएको छ ।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए ।
सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन । जसकारण कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द हुने अवस्था आएको हो ।