प्राइम सहकारी ठगी प्रकरण : ७ जना जेल चलान « Arthapath.com
७ असार २०८१, शुक्रबार

प्राइम सहकारी ठगी प्रकरण : ७ जना जेल चलान



काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारीको बचत अपचलन गर्ने ७ जना कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सहकारीको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगरलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

सहकारीको १ अर्व ५७ करोड रुपैयाँ अपचलन भएको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको हो । तिमध्ये ९ जना पक्राउ परिसकेका छन् भने ५६ जना फरार छन् ।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । घिमिरे पोखराकै मित्रमिलन सहकारीको रकम हिनामिनाको आरोपमा थुनामै छन् ।

जिल्ला सहकारी वकिलको कार्यालयले प्रतिवादीलाई ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्