विश्वभरी माइक्रोसफ्टको सर्भरमा प्राविधिक समस्या, उडानदेखि सेयर बजारसम्म प्रभावित

काठमाडौं । विश्वभरी माइक्रोसफ्टको सर्भरमा प्राविधिक गडवडी आएपछि विमान उडानहरू प्रभावित भएका छन् । बर्लिन, हंगकंग, सिड्नी विमानस्थलको सबै उडान रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बीबीसीका अनुसार विश्वका धेरै उडानहरू ग्राउन्ड भएका छन् । धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ। माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।
अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् । हाल उडानमा रहेकानबाहेक अहिले सबै उडान बन्द भएका छन्।
बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । आईटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या छ । आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरु भएको रिपोर्ट गरिएको छ।
स्काई न्यूज च्यानल बेलायतमा बन्द भएको छ। अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरुद्ध भएको छ ।
अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ । लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ ।
अमेरिकाको अलास्कामा पनि आपतकालीन फोन सेवा प्रभावित भएको छ ।