सूर्योदय वोमी लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा माग गरिएको भन्दा ५१० गुणा बढीको आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएसी) का अनुसार आवेदन दिने अन्तिम दिन आज साउन ८ गते साँझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको एफपीओमा माग गरिएको भन्दा ५१०.१३ गुणा बढीको आवेदन परेको हो ।
एफपीओमा १६ लाख ५६ हजार ८ सय २६ आवेदकबाट २ करोड ३८ लाख ३७ हजार ९ सय कित्ताको लागि आवेदन परेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित दरमा ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको थियो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।
एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने र गाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गरेको हो।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।