सेयर बजारमा करेक्सन, २६ सय बिन्दु पुगेर ओरालो लाग्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । इन्ट्रा डेमा २६ सयको बिन्दुमा पुगेको नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा पुगेर बन्द भएको छ । नयाँ सरकार गठनसँगै निरन्तर उकालो लागेको सेयर बजार करिब २९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।
यस दिन कुल १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको कारोबार भयो । कारोबार रकम ३५ महिनायताकै उच्च हो । कारोबार अवधिभर ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच भयो ।
आज होटल एण्ड पर्यटन र फाइनान्स समूहबाहेक अन्य सबै सूचक राताम्य बनेको छ ।
बजार घट्दा पनि बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स, आरम्भ चौतारी लघुवित्त, साहस ऊर्जा लगायत कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाएका छन् ।
यता, चिरख्वा हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीको ३६ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्न खोज्दा बजारमा करेक्सन देखिएको हो ।