सूर्योदय वोमी लघुवित्तको एफपीओ कहिले हुँदैछ बाँडफाँट ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ बुधबार बाँडफाँट हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले बुधबार बिहान ८ बजे क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट गर्ने भएको हो ।
संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।
सीडीएसीका अनुसार संस्थाको एफपीओमा अन्तिम दिनसम्म १६ लाख ५६ हजार ८२६ आवेदकले २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँबराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
आवदेन दिने आवेदकमध्ये जम्मा ४ हजार ६७३ जनाले मात्र १० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । करीब १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने भएको छ ।
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो ।