वित्तीय अवस्था कमजोर रहेको नेपाल फाइनान्सको सेयर मूल्य किन उचालियो ? « Arthapath.com
१७ श्रावण २०८१, बिहीबार

वित्तीय अवस्था कमजोर रहेको नेपाल फाइनान्सको सेयर मूल्य किन उचालियो ?



काठमाडौं । पछिल्लो एक महिना यता सेयर बजार निरन्तर उकालो यात्रामा छ  । राजनीतिक वृत्तमा फेरिएको सत्ता समीकरणपश्चात लय समाएको सेयर बजारको यात्रा कहाँसम्म पुग्छ त्यसको कुनै निर्क्यौल गर्न सक्ने कुनै ठोस आधार छैन ।

तर बजार भने हावा भरिएको बेलुन झैँ फुलेको छ । एक महिनामै सेयर बजार ७०२.२४ अंकले बढेको छ । असार १७ गते २०५३.३८ बिन्दुमा रहेको सेयर बजार साउन १७ गते २७५५.६२ अंकमा पुगेको छ । एक महिनामा २४ दिन कारोबार हुँदा ३४.१९ प्रतिशतले बढेको छ ।

सेयर बजार बढेसँगै केही स्टकको सेयरमूल्य पनि अस्वाभाविक तबरले बढेको छ । त्यसैमध्येको एउटा उदाहरण हो – नेपाल फाइनान्स । अहिले सेयर बजारमा नेपाल फाइनान्स ‘हट केक’ बनेको छ । यो कम्पनीको सेयर मूल्य अत्यधिक आकासिएको छ । सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा नेपाल फाइनान्स नपरेको बिरलै छ ।

एक महिनामा कम्पनीको सेयरमूल्य १४६.७३ प्रतिशतले बढेको छ । गत असार १७ गते अर्थ जुलाई १ मा कम्पनीको सेयर मूल्य ८७३ रुपैयाँ मात्र थियो । तर एक महिनाको अवधिमा कम्पनीको सेयर मूल्य २१५४ रुपैयाँ पुगेको हो ।

यो कम्पनीको सेयर मूल्य बढ्नुपर्ने त्यस्तो कारण केही छैन ।  वित्तीय स्थिति कमजोर रहेका कम्पनी सेयर मूल्य हावा भरिएको बेलुन झैँ फुलेको छ । कम्पनीको नाफा विश्लेषण गर्ने महत्वपूर्ण सूचक प्रतिसेयर आम्दानी नै नकारात्मक छ ।  गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण (चौथो त्रैमासको सार्वजनिक हुन बाँकी छ) अनुसार वार्षिक प्रतिसेयर आम्दानी जम्मा ०.२४ रुपैयाँ छ । अर्थात् कम्पनीले एक वर्षमा एक रुपैयाँ नाफा कमाउने पनि क्षमता राख्दैन ।

तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा १३ लाख १८ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको सेयर मूल्य भने २१५४ रुपैयाँ पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा ९.२४ प्रतिशत छ । एक वर्षमा कम्पनीको सेयरमूल्य ६९७.७७  प्रतिशतले मूल्य बढेको छ ।

किन बढ्दैछ ?

नेपाल फाइनान्स न्यून पुँजी भएको कम्पनी हो । जसका कारण कम्पनीको मूल्यमा सीमित व्यक्तिहरूले चलखेल गर्ने सम्भावना उच्च रहन्छ ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको ८३ लाख ८९ हजार ४३९ कित्ता सेयर सूचीकृत छ । जसमध्ये ६० प्रतिशत अर्थात् ५० लाख ३३ हजार ६६४ कित्ता सेयर संस्थापकको छ । ४० प्रतिशत अर्थात् ३३ लाख ५५ हजार ७७५ कित्ता मात्र पब्लिक अर्थात् सर्वसाधारणले खरिद गर्न पाउँछन् ।

थोरै कित्ता सेयर हुने कम्पनीहरूको मूल्य अस्वाभाविक बढ्ने गर्छ ।  यो कम्पनीको मूल्य आकासिनुको कारण पनि कम पुँजी हुनु रहेको छ । कमजोर वित्तीय विवरण हुँदा पनि अत्यधिक मूल्य बढ्नु भनेको जोखिम बढ्नु हो । लगानीकर्ता आफैं यस्तो कम्पनीदेखि सचेत रहनुपर्ने जानकारहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्