महिला लघुवित्तको नाफामा ५३१ प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । संस्थाले यो अवधिमा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५३१.०३ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने १३.४६ प्रतिशतले घटेर २२ करोड ८४ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी २६ करोड ४० लाख रुपैयाँ थियो।
संस्थाको सञ्चालन नाफा ५०३.३३ प्रतिशतले बढेर १२ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको यस्तो नाफा २ करोड १४ लाख रुपैयाँ थियो । सञ्चालन नाफासँगै खुद नाफा पनि उल्लेख्य बढेको छ । संस्थाको वितरणयोग्य मुनाफा ६ करोड २२ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेको महिलाको जगेडा कोषमा २० करोड १० लाख रुपैयाँ जम्मा रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी ४१.५९ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २२३.७० रुपैयाँ छ । यो अवधिमा संस्थाले १ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा ५.६९ प्रतिशतबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ ।