के आशा लघुवित्तको नाफा ४० हजार प्रतिशत बढेको हो ?

काठमाडौं । ‘आशा’ लघुवित्तले ‘अत्यासलाग्दो’ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक खबरहरु सार्वजनिक भएपछि केहीबेर यसले वित्तीय बजारबारे चासो राख्ने धेरैलाई तरंगित बनाइदियो । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्ने हो भने साँच्चिकै ४० हजार ५०० प्रतिशत नाफा बढेको देखिन्छ ।
के वास्तविकमै कम्पनीले ४० हजार ५०० सय प्रतिशत नाफा बढाएको हो त ? यस बारेमा चर्चा गर्नुअघि हामीहरु तथ्यांकको भ्रमजालमा कसरी फसिन्छ भनेर एक पल्ट विचार गर्नुपर्ने हुन्छ ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ६ करोड ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा जम्मा १ लाख ४८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो हिसाबले कम्पनीको खुद नाफा ४० हजार ५०० प्रतिशतभन्दा धेरै बढेको देखिन्छ ।
तर त्यो भनेको कति हो त ? नाफाको हिसाब अंकमा होइन, उक्त नाफा आर्जन गर्न लगानी भएको पूँजीका आधारमा हुन्छ । कम्पनीले यो नाफा निकाल्न सेयर लगानीकर्ताको ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी लगानी गरेको छ ।
अव उक्त चुक्ता पुँजीसँग तुलना गरेर हेर्दा गत आर्थिक वर्षमा कमाएको कुल नाफा पूँजीको केवल ९.३७ प्रतिशत मात्र हुन्छ ।अर्थात् अघिल्लो सालभन्दा ४० हजार ५ सय प्रतिशत नाफा बढ्दा पनि कम्पनीको खुद प्रतिफल ९ प्रतिशतमात्रै देखिन्छ ।
कथा यत्तिमै सकिँदैन । कम्पनीको खुद नाफा सबै बाँडेर खान मिल्दैन । नेपाल राष्ट्र बैंकले विभिन्न शीर्षकमा थप कोष छुट्याउनु पर्ने प्रबन्ध गरेको छ । केन्द्रिय बैंकको प्रावधानलाई पुरा गर्न कम्पनीले आफ्नो खुद नाफाबाट ३८ लाख ६८ हजारभन्दा धेरै छुट्याउनु पर्छ । त्यसपछि बाँकी रहेको ४ करोड ३० लाख रुपैयाँमात्रै सेयरधनीले बाँड्न पाउने अवस्था छ ।
यो भनेको कुल चुक्ता पूँजीको ६.७ प्रतिशतमात्रै हो । अर्थात् कम्पनीले गत वर्षको नाफाबाट बढीमा साढे ६ प्रतिशतमात्रै लाभांश बाँड्न पाउने अवस्था छ ।
यसमा कम्पनीले साउन १ को ‘रिटेन अर्निङ’ को हिसाब निकालेर १० करोडभन्दा धेरै पैसा जोडेपछि उसको लाभांश क्षमता २२.६२ प्रतिशत दाबी गरेको छ । यसका निम्ति कम्पनीले गत वर्षको खुद नाफामा रिटेन अर्निङको पैसा जोडेर वितरणयोग्य नाफाको आकार १४ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो साल भारी मात्रामा खुद घाटा सहनु परेका कारण कम्पनीको नाफाको बृद्धि अत्यन्तै धेरै देखिएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनी ३ करोड २८ लाख ९५ हजार रुपैयाँ नोक्सानमा थियो । तर गत आर्थिक वर्षको चौथो त्रैमासमा भने कम्पनीले २ करोड १२ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ८५.९४ प्रतिशतले बढेर ४४ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २३ करोड ७२ लाख रुपैयाँ थियो । केन्द्रिय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको ब्याज तिर्ने समय थपिदिएको कारण उसले पाकिसकेको ब्याज, तर पैसा नउठेको अवस्थालाई पनि आम्दानी बाँध्न पाउँछ ।
कम्पनीको सञ्चालन नाफा ३३९.०२ प्रतिशतले बढेर ८ करोड ४८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोषमा २५ करोड ५७ लाख रुपैयाँ जम्मा रहेको छ ।
प्रतिसेयर आम्दानी पनि ०.०४ पैसाबाट बढेर ९ रुपैयाँ ३७ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०९.५० गुणा छ । संस्थाको खराब कर्जा भने ३.६० प्रतिशतबाट बढेर ४.८१ प्रतिशत कायम भएको छ ।
संस्थाको निक्षेप संकलन ०.७२ प्रतिशतले घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँमा खुम्चिएको छ । यो अवधिमा संस्थाको कर्जा प्रवाह भने ६.२६ प्रतिशतले बढेर ९ अर्ब ४८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।