बढ्दो पर्यटक आगमनले तारे होटेलहरुको व्यापारसँगै नाफामा बढोत्तरी, कसले कति कमाए ? « Arthapath.com
३२ श्रावण २०८१, शुक्रबार

बढ्दो पर्यटक आगमनले तारे होटेलहरुको व्यापारसँगै नाफामा बढोत्तरी, कसले कति कमाए ?



काठमाडौं । पर्यटक आगमन बढेसँगै ठुला तारे होटेलहरुको नाफामा बढोत्तरी देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेलहरुले एकै वर्ष साढे ३० प्रतिशत नाफा बढाएका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरण यस्तो देखाएको हो । हाल नेप्सेमा होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी होटेल गरि ६ वटा कम्पनी सूचीकृत छन् ।

ती कम्पनीहरुले अघिल्लो आवमा ९८ करोड ४७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तर, गत आवमा आइपुग्दा भने ३०.६८ प्रतिशत बढाएर १ अर्ब २८ करोड ६९ लाख रुपैयाँ पुर्याएका छन् ।

मुलुकको बाह्य र आन्तरिक पर्यटक आगमनमा आएको उल्लेख्य सुधारले होटेलहरुको व्यापार बढेको छ । व्यापारमा आएको सुधारले नै खुद नाफा बढ्न पुगेको हो । विस्तारै आर्थिक गतिविधि पनि बढ्दै गएको छ । जसले होटेलहरुको व्यापारमा सुधार आएको छ । पर्यटक आगमन वृद्धिले नै यस क्षेत्रको आम्दानी पनि बढेको छ, जसले खुद नाफामा सुधार आएको हो ।

गत आवमा होटेलहरुको व्यापार पनि दोहोरो अंक (१०.१९ प्रतिशत) ले बढेको छ । अघिल्लो आवमा ६ अर्ब ४० करोड २९ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, गत आवमा भने कम्पनीहरुको व्यापार बढेर ७ अर्ब ५ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक शिथिलताले सुस्ताएको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको व्यापार पनि बढेको छ । पछिल्लो समय मासिक औसत १ लाख हाराहारीमै विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । पर्यटकहरुको आवागमनमा उल्लेख्य सुधार भएसँगै कम्पनीहरुको व्यापार पनि बढेको छ ।

गत आवमा सबैभन्दा धेरै नाफा सोल्टी होटेलले गरेको छ । अघिल्लो आवमा ५५ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने ८.३ प्रतिशत बढाएर ६० करोड १० लाख रुपैयाँ पुर्याएको छ । यता, होटेलको व्यापार पनि साढे दुई अर्ब नाघेको छ । अघिल्लो आवमा सोल्टीको व्यापार २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने १०.७७ प्रतिशत बढाएर २ अर्ब ४९क रोड ७५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, तारागाउँ रेजेन्सीको नाफा पनि २८.१८ प्रतिशत बढेर ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । तारागाँउ होटल सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा छ । गत आवमा कम्पनीको व्यापारमा पनि १०.५९ प्रतिशत बढेर १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

गत आवाम सर्वाधिक नाफा बढाउन चन्द्रागिरी सफल भएको छ । अघिल्लो आवको तुलनामा चन्द्रागिरीको नाफा शतप्रतिशत (९९.३९ प्रतिशत) बढेर २२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको व्यापार भने ९.४९ प्रतिशत वृद्धि भई १ अर्ब १ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा कालिञ्चोक दर्शनको नाफा पनि ७.७७ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको व्यापार पनि २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ।

यता, ओरियण्टल होटेलले पनि गत आवमा १२ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ। तर, कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा २३.९९ प्रतिशत कमी हो । गत आवमा होटेलको व्यापार भने ६.३४ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

यता, सिटी होटलले पनि नोक्सानी घटाएको छ । अघिल्लो आवमा २७ करोड २२ लाख रुपैयाँ घाटामा रहेको होटेलले गत आवमा आइपुग्दा २४.७९ प्रतिशत नोक्सानी घटाएको हो । योसँगै होटलको नोक्सानी २० करोड ४७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको व्यापारमा आएको बढोत्तरीले नै नोक्सानी घटी रहेको छ । गत आवमा कम्पनीको व्यापार १४.२५ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्