डिजिटल बैंकिङमा छलाङ : मोबाइल बैंकिङ प्रयोगकर्ता करीब साढे २ करोड

काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो असार महिनामा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या करीब साढे २ करोड पुगेको छ ।
यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको हो । उक्त प्रयोगकर्तामार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको छ ।
अघिल्लो वर्ष यस्तो मोबाइल भुक्तानी कारोबार २ करोड १३ लाख ६३ प्रयोगकर्ता मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो ।
यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २८ लाख ९३ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ८९ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।
रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मा प्रणालीबाट मात्र ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । यो हालसम्मकै धेरै हो । २०८० असारमा आरटीजीएस मार्फत जम्मा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको थियो ।
यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या २ करोड ३४ लाख ६१ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या १२ लाख ७६ हजारमाथि रहेको बैंकले जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार हुँदा विभिन्न वालेट सेवाहरूमार्फत ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ भुक्तानी कारोबार भएको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सरकारी भुक्तानी साधन कनेक्ट आईपीएसमार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।
एटीएम (डेबिट कार्ड) तथा क्रेडिट कार्डमार्फत ९७ खर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
