नोबडी प्रोडक्सनद्वारा ३० महिनापछि एकैसाथ तीनवटा रियालिटी शो घोषणा

काठमाडौं । क्राइम पेट्रोल नेपालको पहिलो सिजन बनाएपछि सुस्ताएको नोबडी प्रोडक्सनले लगभग ३० महिनापछि एकै साथ तीनवटा रियालिटी शोहरूको घोषणा गरेको छ।
आज दूषित प्रिन्सेस होटलमा आयोजित प्रेस कन्फ्रेन्समा सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्स शोहरु घोषणा गर्दै नोबडी प्रोडक्सनले आफू यो क्षेत्रबाट कहिले टाढा जान नसक्ने भन्ने कुरा पनि देखाएको छ।
मिडिया एण्ड इन्टरटेन्मेन्ट क्षेत्रको क ख ग घ नजान्दा नजान्दै पनि ‘को बन्छ करोडपति शो’बाट यात्रा सुरु गरेको यो टिमले नेपाली दर्शकलाई रियालीटी सो, नन् फिक्सन सिरिज लगायतका विविध क्षेत्रमा कन्टेन्ट पस्किदै छ । यसैको अर्को कडीका रूपमा तीनवटा नयाँ शोहरू घोषणा गरिएका हुन्।
लगभग एक महिना पहिले डिजिटल अडिसन सुरु गरिएको सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ अहिलेसम्म लगभग १२ हजार जनाले अडिसन भिडियो पठाइसकेका छन्। जजेजहरूको घोषणाले कार्यक्रमको हाइप बढ्ने आयोजकको दाबी छ।
सिजन २ मा जजेजका रूपमा दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान रहनेछन्। भारतमा लगभग २५ वर्षदेखि रियालीटी सो को टेलिभिजन रेटिङ पोइन्टमा सधैं अग्रपंक्तिमा रहने यो शोको नेपालमा आफ्नै फ्यान फलोईङ छ। यसको पहिलो सिजनलाई नेपाली दर्शकले अत्याधिक रुचाएका थिए र यसको दोस्रो संस्करणको एकदमै ठूलो प्रतिक्षा थियो।
सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ सँगै नेपाली जीवनको अभिन्न हिस्सा अन्ताक्षरी अब रियालिटी शोका रुपमा आउने भएको छ। संगीतको बाह्रखरी ट्याग लाइन सहित घोषणा गरिएको अन्ताक्षरीको डिजिटल अडिसन यही घटस्थापनाबाट खुल्ने भएको छ।
सांगीतिक कार्यक्रम सारेगमप लिटिल च्याम्पस नेपाल र अन्ताक्षरी सँगसँगै दिमागको खेल बुझिने ब्रिलियन्ट ब्रेन्स पनि यही समारोहमा घोषणा गरिएको छ। नेपालमा को बन्छ करोडपति, क्राइम पट्रोल नेपाल जस्ता रियालीटी सो मात्र होइन ग्यालेक्सी फोरके को सम्पूर्ण क्रिएटिभ जर्नीलाई बिहाइन्ड द सिन बसेर नेतृत्व गरेका विपिन यो प्रोग्रामका होस्ट हुनेछन्। पर्दा पछाडि बसेर काम गर्न रुचाउने विपिनको फ्रन्ट फुट यात्रा कस्तो हुनेछ हेर्न लायक हुनेछ।
‘सारेगमप लिटिल च्याम्पस नेपाल’ को सिजन टु स्पेस फोरके टेलिभिजनमा प्रसारण हुनेछ। आज भएको कार्यक्रममा प्रसारण सम्झौतामा हस्ताक्षर सारेगमपका तर्फबाट बिष्णु सापकोटाले र स्पेसफोकेका तर्फबाट शाह कुमारी शाहीले हस्ताक्षर गरेका छन्।
यसैगरी सिजन २ को एक्सक्लुसिभ कमर्सियल पार्टनरका रूपमा फर्मुला प्लस रहनेछ भने डिजिटल मिडिया पार्टनरका रुपमा राष्ट्रिय संचार रहनेछ। यसमा आज नोबडी प्रोडक्सनसँग सम्झौता पनि भएको छ।