आशुतोषको कविता : दशैँ र दशा

दशैँ आँगनमा आईपुगेको
दैलोबाट प्रबेश गर्न आँटिरहेछ
केही जीत र उत्सवको शङ्खनाद सहित
घामका किरणका न्यानोपन लिएर
हिमालको चीसो बतास बोकेर
कसैका निमित्त छाति पोल्ने अभाव
कसैका लागि कठ्याङ्ग्रिने जीवन भोग्न विवस
दशैँ मझेरिमा आईपुगेको छ,
कसरी मनाउन सक्छन् दशैँ ?
जसका घरहरू बाढी र पहिरो भित्र पसेका छन्
कहाँ भित्र्याउछन् फुलपाति ?
तिनीहरूको घर बगर बनेको छ
परिवार विहिन दशैँ
निरस र उदेकलाग्दो छट्पटीमा
रूपान्तरित भएको छ
सुन्दर बस्तिहरूमा
मान्छेका लास छरिएका छन्
बिपद्मा कसरी उत्सब मनाउछन् ?
यहाँ दशैँ दशा झैँ बनेर आयो
कसैले भनिदिनु
दशैँलाई शोकै शोक अनि दुर्दशाले लत्पत् छ
यो साल फर्किएर कतै जाऊ
जहाँ तिमिलाई कसैले देख्न नसकोस् ।