‘ठूला’ खसी र ‘साना’ च्याङ्ग्रा बेचेर खाद्य कम्पनीको साढे ४ करोडको ब्यापार
काठमाडौँ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्षमा मात्रै ४ लाख ३० हजार टन मासु र १ लाख १३ हजार टन माछा उत्पादन भएको थियो । पछिल्ला वर्षमा नेपालीहरुले मासुको उत्पादन घटाउँदै माछाको उत्पादन बढाउन थालेको विवरण सरकारी दस्तावेजमा देखिन्छ ।
कोभीडको लकडाउन भएको वर्ष त ५ लाख ५२ हजार टन मासु उत्पादन भएको थियो । यसरी उत्पादित मासुको सबैभन्दा सघन खपत हुने मौसम भनेको दशैँ हो । नेपालमा दशैँमा मात्रै कति मासु खपत हुन्छ भन्ने आधिकारिक आँकडा उपलब्ध छैन, तर यो समयमा देशभर वार्षिक खपत हुने मासुको ठूलो हिस्सा केही दिनमै खपत हुने गरेको छ ।
यसरी ब्यापक मात्रामा मासु खपत हुने समयमा काठमाडौँका मासु पसलहरुले पनि उल्लेख्य मात्रामा ब्यापार गर्छन् । काठमाडौँको तारकेश्वर ९ मनमैजुका एक जना मासु ब्यापारीले मात्रै यो दशैँमा १७२ वटा खसी बोकाको मासु बेचेको बताएका छन् । धेरथोर मासु सबै पसलेले विक्री गरेका हुन्छ ।
तर सधैँभरी चासो र चर्चा हुने खसीबोका ब्यापारी चाहीँ सरकारी कम्पनी हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले कति खसीबोका र भेडाच्याङ्ग्रा बेच्यो भनेर आँकडा हेर्ने गरिन्छ । यो कम्पनीले भर्खरै सकिएको दशैँमा करीब ४ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको खसीबोका र च्याङ्ग्रा बेचेको जनाएको छ ।
उसले १ हजार ४५ खसी, १४७ बोका र २८४ वटा च्याङ्ग्रा विक्री गरेको जनाएको छ । कम्पनीले छुट सहित खसी बोका जिवितै प्रतिकिलो ६६० र च्याङ्ग्रा १२२० को भाउमा विक्री गरेको जनाएको छ । यसरी हिसाब गर्दा खाद्य कम्पनीले खसीहरु ठूलो ठूलो विक्री गरेको देखिन्छ भने च्याङ्ग्रा चाहीँ सानै विक्री गरेको देखिन्छ ।
च्याङ्ग्राको भाउ महँगो पर्ने भए पनि धेरै तौल भएको एउटै च्याङ्ग्रा किन्न धेरैलाई दिक्कत हुनसक्छ । यही कारण साना आकारका च्याङ्ग्रा बढी ल्याएको देखिएको छ ।
खाद्यका अनुसार उसले यो दशैँमा बेचेको एउटा जिवित खसीको औसत तौल झण्डै ४५ किलो हुन्छ । बोकाका साढे ३८ किलो र च्याङ्ग्राको जम्मा साढे २६ किलोमात्रै औसत तौल रहेको देखिन्छ । मूल्यका हिसाबले एउटा खसीको औसत मूल्य २९ हजार ५००, बोकाको औसत मूल्य २५ हजार ४०० र च्याङ्ग्राको औसत मूल्य ३२ हजार ३०० पर्ने देखिएको छ ।
यसरी आकार र तौलमा खसी ठूला भए पनि मूल्यका हिसाबले च्याङ्ग्रा महँगो परेको देखिएको छ ।
खाद्य कम्पनीले यो दशैँमा १५०० वटा खसी बोका र ३०० वटा च्याङ्ग्रा ल्याएर बेच्ने योजना बनाएको थियो । त्यसका लागि कम्पनीले ३ करोड रुपैयाँ बजेट छुट्याएको थियो । यो ब्यापारबाट कति नाफा भयो भन्ने चाहीँ कम्पनीले स्पष्ट पारेको छैन ।
बरु एउटा च्याङ्ग्रो र ४ वटा खसीबोका किनेर ल्याए पनि बेच्न नपाउँदै मरेका कारण घाटा भएको कम्पनीले जनाएको छ । ल्याइसकेका १५ वटा सेता च्याङ्ग्रा भने फिर्ता गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत असोज २० देखि २४ गतेसम्म खसीबोका र च्याङ्ग्रा विक्री गरेको थियो । गत साल कम्पनीले ल्याएका खसीबोका र च्याङ्ग्रा नबिकेर सस्तोमा ‘कटाउनु’ परेको थियो । तर यो साल भने बेलैमा सबै खसीबोका र च्याङ्ग्रा रित्तिएको कम्पनीले जनाएको छ ।