सामाजिक सञ्जाल मार्फत बजार प्रभावित बनाई अनुचित फाइदा लिने माथि बोर्डले कारबाही गर्छ : अध्यक्ष श्रेष्ठ
![](https://www.arthapath.com/wp-content/uploads/2024/12/emson-and-sebon-scaled.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई प्रभावित बनाउने गरि भ्रमित सूचना सम्प्रेषण गर्ने जो कोहीलाई पनि कारवाही गर्ने बताए ।
सामाजिक सञ्जाल मार्फत सेयर बजारलाई प्रभावित बनाउने गरि गलत सूचना तथा विचार गर्नेमाथि अनुसन्धान सुरु भएको अध्यक्ष श्रेष्ठले बताए ।
इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित अध्यक्ष तथा मर्चेन्ट बैंकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष लगायतका कार्यसमितिको सम्मान तथा स्वागत कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘विज्ञ भन्दै सामाजिक सञ्जाल मार्फत बजारलाई प्रभाव पार्ने गरि अनुचित फाइदा लिने काम भइरहेका छन् । गलत विचार र भ्रमित सूचना सम्प्रेषण गर्नेहरु माथि बोर्डले निगरानी गरिरहेको छ । थप अध्ययन तथा अनुसन्धानबाट बोर्डले छिट्टै नै व्यवस्थित गर्नेछ ।’
हाल पाइपलाइनमा रहेको आइपीओ, एफपिओ, हकप्रद सेयर अब क्रमिक रुपमा स्वीकृत हुने बताए । छिट्टै नै बोर्डले कम्पनीहरुलाई अनुमति प्रदान गर्ने गरि प्रक्रिया अघि बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘अधिकांशको चासो भने आइपीओ, हकप्रद सेयर, एफपिओमा छ । बोर्डले क्रमिक रुपमा सेयर निष्कासनका लागि अनुमति दिनेछ । यो नियमित प्रक्रिया पनि हो, अब छिट्टै नै यो प्रक्रिया अघि बढ्ने छ ।’