१६ लाख तिरेर घोडा चढ्ने नेपाली को होला ?

काठमाडौँ । भन्सार विभागको तथ्यांकले गत मंसिरमा भारतबाट नेपालमा ११ वटा घोडा आयात भएको देखाउँछ । ती घोडाका लागि नेपालले १ करोड ७४ लाख ६५ हजार रुपैयाँ भारत पठाएका छन् । अर्थात् एउटा घोडाको औसत मूल्य १५ लाख ८७ हजार ७०२ रुपैयाँ परेको देखिन्छ ।
यो तथ्यांक आफैँमा अचम्म लाग्दो छ । एउटा घोडाको मूल्य यतिधेरै परेको यो पहिलो पल्ट हो । आर्थिक वर्ष २०७९/८० मा पनि ४ वटा घोडा नेपालमा आयात भएका थिए । तर त्यस बेला शुद्ध नश्लका घोडा आयात भएको भए पनि यो सालको मंसिरमा ‘अन्य’ घोडा आयात भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
यी घोडाहरु कसले ल्याए र के प्रयोजनले ल्याए भन्ने सार्वजनिक जानरकारीमा छैन । विभागले उक्त सूचनालाई ‘व्यक्तिगत गोपनीयता’मा पर्ने भनेको छ । तर घोडा आयातको आँकडा र यसको मूल्यमा देखिएको विविधताले केही आशंका भने उत्पन्न गर्छ ।
भन्सारको तथ्यांक केलाउँदा पछिल्लो एक दशममा अर्थात् २०७१ साउनदेखि गत मंसिरसम्म नेपालमा १ हजार ५०९ वटा घोडा आयात भएको देखिन्छ । त्यसमध्ये जम्मा ८१ वटा घोडा ‘अन्य’ प्रजातिका छन् भने बाँकी शुद्ध नश्लका घोडा छन् । भन्सारको तथ्यांकले यी १५ सय घोडाको औसत मूल्य प्रतिगोटा १२ सय ७७ रुपैयाँ परेको देखाउँछ ।
तर तथ्यांकभित्र गएर हेर्दा घोडाका यी दुई प्रजातिमध्ये कहिले एउटा महँगो, कहिले अर्को महँगो परेको देखिन्छ । हुन त आकार, तालिम, उमेर र गुणवत्ताजस्ता कुराले पनि घोडाको मूल्यमा ठूलो अन्तर पार्न सक्छ । तथापि, आयात मूल्यको भिन्नभिन्न आँकडाले भने केही अन्योल सिर्जना गरेको छ ।
यो साल एउटै घोडाको १६ लाख हाराहारी मूल्य तिर्ने नेपालले पोहोर ल्याएको घोडा औसत १ लाख २६ हजार ३६९ रुपैयाँ मूल्य चुकाएको देखिन्छ । त्यसअघि आव. २०७७/७८ मा नेदरल्याण्ड्सबाट ४ वटा घोडा ल्याउँदा जम्मा मूल्य २ लाख ६८ हजार तिरिएको छ । अर्थात् औसत भाउ ६६ हजार ९४७ रुपैयाँ ।
आव. २०७५/७६ मा भारतबाट शुद्ध नश्लका १५८ र अन्य २ गरी १६० घोडा ल्याइएको थियो । त्यस बखत शुद्ध नश्लको एउटा घोडाको औसत लागत २५ हजार ११२ र अन्य घोडाको लागत जम्मा ११ सय २० रुपैयाँ देखिन्छ ।
आव २०७५/७६ मा चाहीँ मूल्य फेरि अर्कै देखिन्छ । त्यस बेला १६४ वटा घोडा आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ । त्यस बेला शुद्ध नश्लको घोडा औसत १७ हजार ८५६ रुपैयाँ र अन्य घोडा औसत १८ हजार ७७८ रुपैयाँका दरले आयात भएको देखिन्छ ।
अझ अघिल्लो साल २०७४/७५ मा चाहीँ शुद्ध नश्लको घोडा प्रतिगोटा जम्मा ४१ सय रुपैयाँमा आयात भएको देखिन्छ । त्यसै साल अन्य घोडाको औसत मूल्य २६ हजार ७१७ रुपैयाँ परेको छ । २०७३/७४ मा पनि शुद्ध नश्लवाला घोडा ५ हजार र अन्य घोडा ८ हजार ५२८ रुपैयाँको औसत मूल्यमा आयात भएको देखिन्छ ।
आव. २०७२/७३ मा त एन्डोरा भन्ने फ्रान्स र स्पेनको बीचमा रहेको फुच्चे देशबाट २० वटा घोडा नेपालमा आयात भएको देखिन्छ । करीब ८० हजार जति मानिस बस्ने यो देशको क्षेत्रफल हाम्रो पर्वत जिल्लाभन्दा पनि सानो, अर्थात् काठमाडौँमा आधा भक्तपुर मिसाएजत्रो छ ।
त्यो देशबाट ल्याइएको शुद्ध नश्लको घोडाको मूल्य अझ रोमाञ्चक छ । भन्सारको तथ्यांक अनुसार एण्डोराबाट नेपालमा एउटाको मूल्य जम्मा १५० रुपैयाँका दरले घोडा आयात भएको देखिन्छ । त्यसै साल भारतबाट त झन् ५५ रुपैयाँ गोटामा घोडा आयात भएको देखिन्छ ।
भूकम्पपछिको एक वर्षमा यति सस्तो मूल्यमा घोडा कसरी आयो भन्ने कुनै तथ्य सार्वजनिक अभिलेखमा पाइन्न । तर त्यही वर्ष भारतबाटै ल्याइएको अन्य प्रजातिको घोडाका लागि ८ हजार ९५७ रुपैयाँका दरले मूल्य तिरेको भन्सारको तथ्यांकमा देखिन्छ ।
ठीक एक दशक अघि आव २०७१/७२ मा पनि स्वीट्जरल्याण्ड, चीन र भारतबाट १५ वटा शुद्ध नश्लको घोडा आयात भएको देखिन्छ । त्यसमध्ये चिनियाँ घोडालाई ३३ हजा ३३३, भारतीय घोडालाई ४७ हजार र स्वीस घोडालाई ५२ हजार ९१ रुपैयाँको औसत मूल्य भुक्तानी गरेको देखिन्छ । त्यो साल भारतबाटै ‘अन्य’ प्रजातिको घोडा प्रतिगोटा ४३ हजार तिरेर आयात भएको छ ।
घोडाको मोलमा देखिएको यो विविधतालाई पुष्टि गर्नेमात्रै होइन, यो साल आयात भएको ज्यादै महँगो घोडाको सन्दर्भमा पनि थप विवरण सार्वजनिक हुन सकेको छैन । भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठ भन्छन्, ‘हाम्रो ऐनमा नै कुन सामान कसले आयात गरेको हो भन्ने विवरणलाई व्यक्तिगत गोपनीयता मानिएकाले यसबारे सार्वजनिक जानकारी दिन मिल्दैन ।’
उनले प्रहरी एवम् न्यायिक अनुसन्धान र अदालती प्रक्रियामा आवस्यक पर्दाको घडीमा मात्रै यस्ता विवरणहरु उपलब्ध गराइने, अन्यथा यी विवरण गोप्य रहने बताए ।
केही जानकारहरु तराई र पहाडी क्षेत्रमा पनि ढुवानी एवम् सवारी साधनमा प्रयोग गर्न समेत घोडाको उपयोग हुने भएकाले त्यस्ता प्रयोजनको घोडा सस्तो मूल्यमा आयात हुनसक्ने ठान्छन् । तर एउटा घोडाको मूल्य कहिले ५५ रुपैयाँ वा १५० रुपैयाँसम्म झर्ने, अनि कहिले १६ लाख रुपैयाँसम्म पुग्ने स्थिति चाहीँ ‘अस्वाभाविक’ देखिन्छ ।
यस तथ्यांकले घोडाको ‘सानै’ कारोबारमा पनि कर छली, सम्पत्ती शुद्धिकरण वा पूँजी पलायनजस्ता वित्तीय एवम् आर्थिक अपराधहरु लुकेको हुनसक्ने संभावनालाई जिवितै राखेको छ ।