आजको भूइँचालो कति शक्तिशाली हो ? « Arthapath.com
२३ पुष २०८१, मंगलवार

आजको भूइँचालो कति शक्तिशाली हो ?



काठमाडौँ । मंगलबार विहान काठमाडौँमा घाम झुल्किएकै थिएन । कयौँ मानिस ओछ्यानमै थिए । कोही शौचालायमा र कोही भान्साघरमा पनि हुँदा हुन् । गाउँघरतिर त मानिसहरु कोही खेतबारीमा पुगिसकेका र कोही गोठ, खोरहरुमा पाल्तु जनावरको सेवा गर्दै पनि थिए ।

त्यही बेला एक्कासी जमीन हल्लिन थाल्यो, घरहरु घ्याचघ्याच, घच्याक–घच्याक हुन थाले । दलीनदेखि फर्निचरसम्म कट्–कट् आवाज आउन थाल्यो । त्यसपछि चिच्याउँदै, कराउँदै र आफन्तलाई बोलाउँदै मनिसहरु सडक, आँगन र चौरमा निस्कन थाले ।

विहान ६ः५० बजे (तिब्बती समय अनुसार ९ः०५ बजे) निकै लामो भूकम्प महसुस भयो । बूढीगण्डकी अर्थात् गोरखादेखि पूर्वको पुरै नेपालमा थोरबहुत भूकम्पको धक्का महसुस गरिएको थियो । धक्का कमजोर, तर समय निकै लामो ।

गाउँगाउँमा चिच्चाहट सुनिएका खबरहरु भूकम्प पश्चातका कुराकानीमा थाहा हुन्थ्यो । यति शक्तिशाली भूकम्प नेपालदेखि अलि टाढा केन्द्रविन्दु बनाएर आयो । यसको केन्द्र सगरमाथाको पछाडिपट्टि थियो, जुन हाम्रो खुम्जुङ्ग क्षेत्रबको बजार लोबुचेबाट ९३ किलोमिटर उत्तरपूर्वमा पर्छ ।

तिब्बतको शिगात्सेबाट १७७ किलोमिटर दक्षिणपश्चिममा अवस्थित सिचाङ भन्ने ठाउँमा जमीनबाट १० किलोमिटर गरिराईमा भूकम्प फुटेको थियो । यो ठाउँ अरुण नदी (तिब्बती खण्ड)को तीर नजिकै पर्छ ।

यो भूकम्पले गोरखादेखि पूर्वको पुरै नेपाल, दक्षिण पूर्वी तिब्बत, उत्तरी बिहार लगायत भारतीय राज्यहरू, भुटानको पश्चिमी क्षेत्र र बाङ्गलादेशको केही क्षेत्र पनि प्रभावित पारेको छ।

तर यो भूकम्पको क्षमता बारे भने भिन्नभिन्न मतहरु आइरहेका छन् । अमेरिकी संस्था यूएस जिओलोजिकल सर्भेले यो भूकम्प ७.१ म्याग्निच्युडको भनेको छ । तर चीनको संस्था ‘चाइना अर्थक्वेक नेटवर्क सेन्टर’ले यो केवल ६.८ म्याग्निच्युडको भनेको छ । उसले सुरुमा ६.९ म्याग्निच्युड भनेपनि पछि सच्याएको थियो ।

यता नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युड भनेर उल्लेख गरेको छ । फ्रान्समा मुख्यालय रहेको एक अन्तरराष्ट्रिय गैरसरकारी संस्था ‘यूरोपीय–भूमध्यसागरीय भूकम्पीय केंद्र (ईएमएससी)’ले पनि सुरुमा ६.९ म्याग्निच्युड भनेकोमा पछि ७ म्याग्निच्युड भनेको छ ।

यही अन्तर अर्थात् ०.१ म्याग्निच्युड भनेको कति हो भनेर हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ । भूकम्प मापन गर्दा हरेक १ म्याग्निच्युडको अन्तर पर्नु भनेको त्यस भूकम्पमा उत्सर्जन हुने ऊर्जा करीब ३२ गुणा फरक पर्नु हो । अर्थात्, ७ म्याग्निच्युड मापन हुने भूकम्प जाँदा जति ऊर्जा उत्सर्जन हुन्छ, त्यो ८ म्याग्निच्युड हुँदा ३१.६२ गुणा बढी हुन्छ ।

अब यहाँ नेपाल र अमेरिकाको मापनमा देखिएको अन्तर ०.१ म्याग्निच्युड भनेको के हो त ? नेपालले भनेको ७ म्याग्निच्युडको तुलनामा अमेरिकाले भनेको ७.१ म्याग्निच्युडहुँदा उत्सजित उर्जा ४१ प्रतिशत बढी हुन्छ । चीन र अमेरिकाले त ०.३ म्याग्निच्युडको अन्तर निकालेका छन् । यो अन्तरमा १२३ प्रतिशत ऊर्जा उत्सर्जन फरक पर्छ । अर्थात् चीनले भनेको तुलनामा अमेरिकाले दोब्बरभन्दा ज्यादा शक्तिशाली भूकम्प गएको मानेको छ ।

भूगर्भ विज्ञहरुका अनुसार यस सामान्यतया ५ म्याग्निच्युडसम्मका भूकम्पहरु मापन गर्दा स्थानीय मापन केन्द्रका तथ्यांकहरु बढी उपयोगी हुन्छन् । तर त्योभन्दा बढी क्षमताको भूकम्प मापन गर्दा चाहीँ प्रभावित क्षेत्रभन्दा टाढाबाठ ‘वास्तविक’ क्षमता मापन गर्न सकिने हुन्छ । यही कारण धेरै सञ्चार संस्थाहरुले अमेरिकी मापनलाई ज्यादातर महत्व दिएका छन् ।

यसमा प्रयोग हुने भिन्नभिन्न मापन विधीहरुले पनि तथ्यांकमा अन्तर देखिन्छ । नेपालमा २०७२ वैशाख १२ को भूकम्प जाँदा पनि त्यस्तै भएको थियो । नेपालले ७.६ म्याग्निच्युड भनेको त्यो भूकम्पलाई अमेरिकाले ७.८ म्याग्निच्युड भनेको थियो । चीनले त्यसबेला ८.१ म्याग्निच्युड बताएको थियो ।

९ हजारभन्दा धेरैको ज्यान लिने गरी आएको नेपाली भूकम्पले पनि तिब्बतदेखि भारतको गंगामैदान, भुटान र बाङ्लादेशसम्मै हल्लाएको थियो । तर त्योभन्दा आजको तिब्बती भूकम्प निकै कम शक्तिशाली हो । त्यसमाथि भूकम्पको तीव्र प्रभाव भएको क्षेत्रमा निकै कम जनघनत्व भएका कारण यसको क्षति पनि तुलनात्मक रुपमा कमै हुनसक्ने आँकलन गरिएको छ ।

यद्यपि, यस भूकम्पले कति मात्रामा जनधनको क्षति गर्यो भन्ने विवरणहरु आउन सकेका छैनन् । प्रारम्भिक खबरहरुमा कम्तिमा पनि ९ जनाको ज्यान गएको भनिएको छ ।तर कतिपय स्थानीय चिनियाँ सञ्चारमाध्यमहरुले थप विवरणहरु प्रस्तुत नगरी ‘कयौँ मान्छे’ले ज्यान गुमाएको भनेका छन् । थुप्रै घरहरु भत्किएको खबर आएको छ । तर यसको यकिन विवरण आउन थप समय लाग्ने छ ।

उत्तर–पूर्वी नेपालमा पनि यसको क्षति भएको हुनसक्छ । यससम्बन्धी विवरणहरु पनि बाहिर आइसकेका छैनन् ।

चीनको (मूल भूमिदेखि) दक्षिण–पश्चिम क्षेत्रमा बारम्बार भूकम्प गइरहने गर्छ । पछिल्लो पल्ट सिचुआन (सिछ्वान) प्रान्तमा सन् २००८ मा गएको महाभूकम्पले झण्डै ७० हजारको ज्याल लिएको थियो । त्यो भूकम्पलाई ७.९ देखि ८.३ म्याग्निच्युड मापन गरिएको थियो ।

चिनियाँ सरकारी टेलिभिजन च्यानल सीसीटीभीका अनुसार आज विहान गएको भूकम्पको केन्द्रदेखि २०० किलोमिटर दायराभित्र पछिल्ला ५ वर्षमा थुप्रै भूकम्प गएका थिए । त्यसमध्ये ३ वा त्योभन्दा बढी म्याग्निच्युडका भूकम्पको संख्या २९ थियो । तर ती सबै आजको भूकम्पभन्दा साना थिए ।

भूकम्प त नेपालमा पनि गइरहन्छ । यही पुसमा मात्रै नेपालकै विभिन्न स्थानमा केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलभन्दा बढी क्षमताका १० वटा भूकम्प गइसकेका छन् । मंगलबार विहानको भूकम्प पनि नेपालमा ५.३ म्याग्निच्युडको धक्का महसुस भएको छ ।

आजको भूईँचालोको प्रभावक्षेत्र ।


प्रतिक्रिया दिनुहोस्