विमानमा हुने ‘टर्ब्युलेन्स’ के हो ? कसरी जोगिने ? « Arthapath.com
४ माघ २०८१, शुक्रबार

विमानमा हुने ‘टर्ब्युलेन्स’ के हो ? कसरी जोगिने ?



काठमाडौं । हवाइ उडानमा ‘टर्ब्युलेन्स’ अब सबैका लागि परिचय बनिसकेको छ । विमानमा यात्रा गरिरहने धेरैलाई ‘एअर टर्ब्युलेन्स’को बारेमा थाहा हुन्छ । यात्राका क्रममा यो महसुस उनीहरूले गरेका हुन्छन् । तर पहिलोपल्ट यात्रा गर्ने यात्रु भने यो समयमा अतालिन्छन् ।

कहिलेकाही ‘एअर टर्ब्युलेन्स’ घातक देखिए पनि सामान्यतया यसले हानी नगर्ने विज्ञहरू बताउँछन् । आज हामी तपाईंलाई ‘टर्ब्युलेन्स’ भनेको के हो ? यसका बारेमा जानकारी दिँदै छौँ ।

‘टर्ब्युलेन्स’ के हो?

‘टर्ब्युलेन्स’ भनेको उछाल हो । यो पानी वा हावाको वहावमा आउने झोँका वा छालद्वारा उत्पन्न हुन्छ । हावामा उत्पन्न हुने यस्तो उतारचढावपूर्ण वहावका कारण जहाज हल्लिन्छ । यसैलाई एयर टर्ब्युलेन्स भनिएको हो ।

यस प्रकारको अवस्थाले उडान भरिरहेका विमानलाई अस्थिर बनाइदिन्छ । यसले विमानलाई अनियमित र तल–माथि हुने अवस्था निम्त्याउँछ । जहाजको उडानमा ‘टर्ब्युलेन्स’ लाई सामान्य मानिन्छ ।

यो हावाको बहावमा आउने अवरोधले जहाज हल्लिन्छ । हावाको बहावमा उचाइ अनुसार फरक हुन्छ । हिमाल, पहाड, तराई, तापक्रमको भिन्नता, पृथ्वीको घुमाइ, जेट स्ट्रिम जहाँ पनि हावाको वहाव फरक हुन्छ ।

यसरी उडानको क्रममा जब हावा अनियन्त्रित रूपमा विमानको पखेटासँग ठोक्किन्छ, विमानमा एयर टब्र्युुलेन्स सिर्जना हुन्छ । यसको कारणले गर्दा विमान माथि र तल चल्न थाल्छ । यात्रुहरूले झट्का महसुस गर्न थाल्छन् ।

बादलभित्र वायुको बहावले तल वा माथि धकेलिरहेको अर्थात् दबाब दिइरहेको हुन्छ । सामान्यतया हावाको प्रवाह सामान्य हुन्छ । तर मेघगर्जन गराउन सक्ने ठूला बादलहरूमा वायुको चर्को प्रवाह भएको अवस्थामा मध्यम वा कडा खालको टब्र्युलेन्स उत्पन्न हुन सक्छ ।

टर्ब्युलेन्सलाई अर्को भाषामा भन्नुपर्दा यो भनेको खाल्डाखुल्डी सडकमा गुडिरहेको गाडी जस्तै हो । उथलपुथल सडकमा पनि गाडीले जोडजोडले हल्लाउने गर्छ । मौसम सफा भएको अवस्थामा पनि टब्र्युलेन्स हुने विज्ञहरू बताउँछन् । यसलाई हल्का, मध्यम, गम्भीर वा चरम रूपमा वर्गीकृत गर्ने गरिएको छ ।

टर्ब्युलेन्सले सबै विमानहरूलाई एकै तरिकाले असर गर्दैन । यसले सबै आकारका विमानहरूलाई असर गर्छ, तर तौलको आधारमा तीव्रतामा फरक हुन्छ । ठूला, भारी विमानहरूको तुलनामा साना वा कम भारयुक्त विमानहरू ज्यादा हल्लिन्छन् ।

टर्ब्युलेन्स देखिँदैन, तर उडानमा कुनै पनि समयमा विमान यस्तो अवस्थाबाट गुज्रन पुग्छ । यसैकारण यात्रुहरू र चालक दलले ठूला विमानहरूमा सिट–बेल्ट बाध्नुपर्छ । हल्लाउने गति बढी भयो भने यही कारणले यात्रुहरू वा असुरक्षित कार्गो फ्याँकिन सक्छन्, जसले चोटपटक लाग्न सक्छ ।

टर्ब्युलेन्सका प्रकार

क्लियर एयर टर्ब्युलेन्स

सफा आकाशमा हुने टर्ब्युलेन्सलाई ‘क्लियर एयर टर्ब्युलेन्स’ भनिन्छ । यो १५ हजार फिटभन्दा माथिको उचाइमा हावाको झोँक्काको कारण उत्पन्न हुन्छ । यो अदृश्य हुन्छ । यसको पहिले नै भविष्यवाणी गर्न नसकिने हुँदा डर पैदा गर्छ ।

तर पाइलटहरूले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्षम हुन्छन् । किन की उनीहरु त्यसो गर्न राम्रोसँग प्रशिक्षित हुन्छन् । जसले यात्रु सुरक्षा सुनिश्चित गर्दछ ।

क्लिअर एअर टर्ब्युलेन्स ‘जेट स्ट्रीम’ अर्थात् तीव्र गतिमा बहेको वायुको आसपास उत्पन्न हुन्छ । यो ४० देखि ६० हजार फीटको उचाइमा यस्तो अवस्था सिर्जना हुने विज्ञहरू बताउँछन् ।

वेक टर्ब्युलेन्स

वेक टर्ब्युलेन्स निम्न–स्तरको सामान्य उड्डयन विमान सञ्चालनको लागि उच्च खतराहरू मध्ये एक हो । किनभने उडान र अवतरण गर्दा ठूलो विमानको पछाडि पछ्याउँदा वेक टर्ब्युलेन्सको उच्च सम्भावना हुन्छ ।

पखेटाको माथिल्लो सतहमा कम चापले पखेटाको तल्लो सतहमा उच्च चापलाई भेट्छ, जसले गर्दा विङ्गटिप भोर्टिसहरू सिर्जना हुन्छन् । यो विमानको पखेटाको छेउ पछाडि घुम्ने हावाको पिण्ड हो । यसले विशेष गरी विमानको पखेटा र पुच्छर वरिपरि थोरै हल्लाउन सक्छन् ।

माउन्टेन वेभ टर्ब्युलेन्स

पहाडहरूमाथि उठ्ने र उपत्यकाहरूमा डुब्ने हावाले उडानहरूलाई असर गर्न सक्ने लहरदार हावा ढाँचाहरू सिर्जना गर्दछ । नेपालको आकाशमा उडान भर्ने पाइलटहरूलाई विशेष रूपमा यस प्रकारको अशान्ति व्यवस्थापन गर्न तालिम दिइएको छ । यो वायुप्रवाह हो जुन पहाड वा पहाड श्रृङ्खलाले बाधा पु¥याउँछ र टर्बुलेन्स निम्त्याउँछ ।

चट्याङको टर्ब्युलेन्स

नेपालको मनसुन प्रणालीमा सामान्य रूपमा हुने यस प्रकारको समस्या आँधीबेहरी भित्रै विमान तीव्र गतिमा माथि उठ्ने र तल झर्ने समस्याले गर्दा हुन्छ । मौसमविद् र हवाई ट्राफिक नियन्त्रकहरूले आँधीबेहरीको भविष्यवाणी गर्न नजिकबाट काम गर्छन्, जसले गर्दा पाइलटहरूले आवश्यक पर्दा उडान मार्गहरू समायोजन गर्न सक्छन् ।

विन्ड शीयर

विन्ड शीयर छोटो दूरीमा हावाको गति वा दिशामा अचानक आउने परिवर्तन हो । यो प्रायः अदृश्य हुन्छ । यसले विमानको प्रदर्शनलाई अचानक परिवर्तन गर्न सक्छ । यसले विमान जमिनको नजिक हुँदा विशेष गरी खतरनाक बनाउँछ ।

कन्भेक्टिव (थर्मल) टर्ब्युलेन्स

कन्भेक्टिव टर्ब्युलेन्स सबै पाइलटहरूले सामना गर्ने सबैभन्दा सामान्य प्रकारको टर्ब्युलेन्स हो । वायुमण्डलको विभिन्न तहबीच हुने तापमानको अन्तरका कारण हावा तल वा माथि प्रवाहित हुन्छ । यसरी ठाडो बाटोमा बहने हावाले टर्ब्युलेन्स उत्पन्न गराउँछ ।

पृथ्वीको सतहको तापक्रमले हावाको बढ्दो र घट्दो धारा निम्त्याउँछ । यसले बलियो अपड्राफ्ट र डाउनड्राफ्ट सिर्जना गर्दछ । तापीय टर्ब्युलेन्स, संवहनी टर्ब्युलेन्सको एक रूप हो । जब सूर्यले जमीनलाई तताउँछ र हावा माथि उठाउँछ ।

यस्तो टर्ब्युलेन्सको सामना अधिकतर न्यून उचाइमा उड्ने र साना विमानहरुले गरिरहेका हुन्छन् । उच्च उचाइमा उड्ने विमानहरू थर्मल टर्ब्युलेन्सबाट कम प्रभावित हुन्छन् ।

फ्रन्टल टर्ब्युलेन्स

फ्रन्टल टर्ब्युलेन्स पनि मौसमबाटै सिर्जना हुन्छ । जब तातो र चिसो हावाको समूह आपसमा ठोक्किन्छ, चिसो हावाले तातो हावालाई माथितिर धकेल्छ । दुई वायु पिण्डहरू बीचको सीमा अर्थात् जोड पनि राम्रोसँग मिल्दैन, जसले गर्दा टर्ब्युलेन्स उत्पन्न हुन्छ ।

यान्त्रिक टर्ब्युलेन्स

यान्त्रिक टर्ब्युलेन्स हावाको प्रवाहमा हुने अवरोधहरूको कारणले उत्पन्न हुन्छ । अनियमित भूभाग र मानव निर्मित अवरोधहरूले सतहभरि सहज वायुप्रवाहलाई बाधा पु¥याउँछन् । टर्ब्युलेन्सको तीव्रता हावाको शक्तिमा निर्भर गर्दछ ।

ठूला ह्याङ्गर (विमान राख्ने भवन)हरू र रूखहरूको पङ्क्तिहरू यान्त्रिक अवरोधहरू सिर्जना गर्ने सामान्य उदाहरणहरू हुन् । साना एयरफिल्डहरूमा सम्पूर्ण धावनमार्गमा ठूला ह्याङ्गरहरू वा रूखहरूका पङ्क्तिहरू हुन्छन् ।

यसले चुनौतीपूर्ण अवस्थाहरू सिर्जना गर्दछ । जब हावा धावनमार्गमा सीधै लम्बवत रूपमा बग्छ तब यो विशेष गरी टर्ब्युलेन्स हुन्छ । आधुनिक विमानहरू टर्ब्युलेन्सलाई सम्हाल्न सावधानी पूर्वक डिजाइन गरिएका र धेरै हानी नगर्ने बुद्ध एयरका सञ्चार प्रबन्धक दिपेन्द्र कर्ण बताउँछन् । हावाको प्रेसर सबै ठाउँमा एकनास हुँदैन । कतै बढी र कतै कम हुन्छ । जसले जहाज केही तलमाथि हुन्छ । तर यो खतरनाक भने हुँदैन । अफ रोडमा गाडीले हल्लिए यस्तै हो । आत्तिनु भने पर्दैनु उनी भन्छन्, ‘एयर टर्ब्युलेन्सले जहाज दुर्घटना भएको रेकर्ड छैन ।’यस्तो अवस्थामा सिटको पेटी बाधिराख्न उनी सुझाउँछन् ।

कसरी जोगिने ?

टब्र्युुलेन्स विरलै खतरनाक हुन्छ । नेपालमा दशकौंको उड्डयन इतिहासमा टब्र्युलेन्सको कारण कुनै दुर्घटना भएको छैन । यसले हवाई यात्रा सुरक्षित रहेको पुष्टि गर्छ । टब्र्युुलेन्सबाट जोगिन हवाई यात्रामा सधैँ आफ्नो सिटबेल्ट बाँध्नुपर्छ । बसेको बेला आफ्नो सिटबेल्ट बाँध्नु टर्ब्युलेन्सको समयमा सुरक्षित रहने सबैभन्दा सरल र प्रभावकारी तरिका हो ।

उडान परिचारकहरूले टर्ब्युलेन्सको समयमा यात्रुहरूलाई मार्गदर्शन गर्न सिकाइरहेका हुन्छन् । उनीहरूको निर्देशनहरूलाई ध्यान दिएर सुन्ने र पालना गर्ने गर्नुपर्छ । व्यक्तिगत सामानहरूलाई सुरक्षित रूपमा राख्नुपर्छ ।

धेरै यात्रुहरूको लागि टर्ब्युलेन्सले डर पैदा गर्ने गरेको छ । कहिलेकाहीँ विमानको अस्थिर हल्ला– चिन्ताको कारण हुन सक्छ । तर हवाई यात्रा गर्दै गर्दा टर्ब्युलेन्स प्राकृतिक र सामान्यतया हानि–रहित हुन्छ भनेर बुझ्नुपर्छ ।

यसको कारणहरू, प्रकारहरू र संभावित ठाउँमा सुरक्षा उपायहरू अपनाउनाले यात्रालाई सहज र सुरक्षित बनाउन मद्दत गर्छ ।


प्रतिक्रिया दिनुहोस्