युएस–एडको पत्रपछि सरकारले रोक्यो चार ठूला परियोजनाको काम

काठमाडौँ । अर्थ मन्त्रालयले अमेरिकी विकास साझेदार संस्था युएस–एडको सहयोगमा सञ्चालित परियोजनाहरु ९० दिनका लागि स्थगित गर्न निर्देशन दिएको छ ।
यु.एस. एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएस–एड) र नेपाल सरकारबीच २०७९ वैशाख २२ मा भएको सम्झौता बमोजिम नेपाल सरकारमार्फत् खर्च हुने चार परियोजनालाई स्थगित गर्न निर्देशन दिइएको हो ।
दाता युएस–एडले सबै अनुदान सहयोगहरु ९० दिनका लागि स्थगित भएको जानकारी अर्थ मन्त्रालयलाई गराएसँगै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
‘यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तरगत युएस–एड स्रोततर्फ कुनै दायित्व सृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ’, अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले भनेका छन् ।
३३ महिना अघि युएस–एड र नेपाल सरकारबीच एक ‘डेभलपमेन्ट अब्जेक्टिभ एग्रीमेन्ट’ मा हस्ताक्षर भएको थियो । उक्त सम्झौता अनुसार युएस–एडले नेपालमा खर्च गर्ने रकममध्ये केही हिस्सा नेपाल सरकारको बजेट प्रणाली मार्फत् सर्वसञ्चित कोषबाट (अन—ट्रेजरी) भुक्तानी हुने सञ्चालित परियोजनामा खर्च हुने उल्लेख थियो ।
यस प्रकारले सञ्चालन भएका चार वटा आयोजनाहरुका लागि अहिले सरकारले ‘थप दायित्व सिर्जना नगर्न’ निर्देशन दिएको हो ।
यी आयोजनाहरुमा युएस–एड हेल्थ डाइरेन्ट फाइनान्सिङ प्रोजेक्ट, युएस–एड एग्रीकल्चर डाइरेन्ट फाइनान्सिङ प्रोजेक्ट, युएस–एड एडुकेशन डाइरेन्ट फाइनान्सिङ प्रोजेक्ट र युएस–एड इन्क्लुसिभ पोलिसी डाइरेन्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।