जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब १५ करोड निकासा « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

जाजरकोट भूकम्प प्रभावितका लागि ३ अर्ब १५ करोड निकासा



काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब १५ करोड ६५ लाख रकम निकासा गरिसकेको छ। प्रतिनिधिसभामा आइतबार आयोजित प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भइ रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ।

२०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि थप रु.८० करोड निकासा भएको उनले जानकारी दिए । जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्ता देखि फिल्डमा खटिने उनले दाबी गरे ।

मनसुनजन्य विपद् एवं भूकम्पबाट प्रभावितहरूको समस्या समाधानका लागि विपद् व्यवस्थापन राष्ट्रिय परिषद्‌को पौष २८ गते बसेको बैठकले रु. १ खर्ब १ अर्बको पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत गरी निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणको लागि स्पष्ट मार्गचित्र तयार भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्