एनजीओ र आईएनजीओ पारदर्शी हुनुपर्छः शेरबहादुर देउवा « Arthapath.com
५ फाल्गुन २०८१, सोमबार

एनजीओ र आईएनजीओ पारदर्शी हुनुपर्छः शेरबहादुर देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्था (एनजीओ र आईएनजीओहरु)भित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज उठिरहेको बताएका छन् ।

‘गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति’ विषयमा मंगलबार आयोजित एक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ उनले भने ।

पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्याक्रममा देउवाले गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने सुझाव दिए ।

पछिल्लो समय गैर सरकारी संस्थाहरु सामाजिक ध्रुविकरण, भड्काउ र धर्म परिवर्तनमा संलग्न हुन थालेको आरोप लागिरहेका बेला कांग्रेस सभापतिको यस्तो तर्क आएको हो । उनले वास्तविक मुद्दाहरुमा यस्ता संस्थाले काम गर्नुपर्ने र उनीहरुको पारदर्शिता पनि बलियो हुनुपर्ने भनेका छन् ।

विश्वभर जलवायु परिवर्तनको असर बढिरेका बेला हाम्रा हिमालहरू नांगिन थालेका छन् । यस अवस्थामा गैरसरकारी संस्थाहरूले स्थानीय समुदायलाई साथमा लिएर सचेतना एवम् अन्य गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव उनले दिए ।

अमेरिकाले आफ्ना विभिन्न एजेन्सीहरुबाट दिने अनुदानमा भटाभट कटौति गर्न थालेका बेला देउवाको यस्तो धारणा आएको हो । उनले हिमाल कसरी जोगाउने भनेर पहल गर्न गैर सरकारी संस्था सञ्चालकहरुलाई आग्रह गरे ।

उनले कार्यक्षेत्र भन्दा पनि ठूलो समस्या पारदर्शिता र खर्चको प्रभावकारीतामै रहेको दोहोराए । एउटै कार्यक्रममा दोहोरो खर्च देखाउने, हुँदै नभएको खर्च पनि देखाउने, जाँदै नगएका मानिसको नाममा भत्ता बाँडेको देखाउने र समुदायलाई थाहापत्तो नदिइ कार्यक्रम सकिसम्ने परिपाटी नेपालमा ब्याप्त भएको गुनासो रहँदै आएको छ ।

देउवाले पनि यस्ता अनेकौँ व्यथितिहरुको अन्त्य गर्नुपर्ने धारणा राखे । उनले जुन समुदायको कल्याणका लागि खर्च गर्ने भनेर पैसा ल्याइएको छ, त्यही समुदाय र काममा खर्च हुनुपर्ने बताए । कागजी रुपमा खर्च देखाएर थोरै मानिसले पैसा कमाउने भ्रष्टाचार मौलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको संकेत देउवाले दिएका छन् ।

उनले पार्टीभित्र पनि यस विषयमा सन्देश प्रसार गर्न आग्रह गरे ।

नेपाली कांग्रेसले वैदेशिक सहायतालाई स्थानीयको चाहना र आवश्यकता अनुसार परिचालन गर्नुपर्ने नीति लिँदै आएको उनले बताए ।

यही सिलसिलालाई नै निरन्तरता दिनुपर्ने सभापति देउवाको धारणा छ । आर्थिक समृद्धि र विकासमा योगदान पुर्‍याउने गरी वैदेशिक साहायता लिनुपर्ने भन्दै देउवाले सिंगो पार्टी पंक्तिलाई नै पारदर्शिता एवम् सामाजिक समन्वयमा सहभागि हुन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्