नेपाल मेडिकल कलेजका सेयरधनीलाई ३० प्रतिशत बोनस दिने « Arthapath.com
११ फाल्गुन २०८१, आईतवार

नेपाल मेडिकल कलेजका सेयरधनीलाई ३० प्रतिशत बोनस दिने



काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताए ।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । प्रा.डा. अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाए ।

कलेजको २५ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष प्रा.डा. अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गरे। कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उहाँले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।

साथै उनले गत वर्षको बार्षिक साधारणसभामा आफुले व्यक्त गरिएका धेरै योजनाहरु कार्यान्वयन भएको जनाउँदै आगामी वर्षहरुमा कलेजलाई अझ नयाँ उचाईमा लैजाने बताए । उनले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरु थप गरिएको, सिट संख्यामा बृद्धि भएको पनि जानकारी दिए। भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पताल भित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप बृद्धि हुने विस्वास व्यक्त गरे।

साधारणसभामा बोल्दै कलेजका प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नेपाल मेडिकल कलेजको शैक्षिक, स्वास्थ्य क्षेत्र र प्रशासनिक सेवा सुधार्न आफुहरुले चालेका योजनाहरु सफल हुँदै गएको र त्यसमा सबैले साथ सहयोग गरेको बताए । आगामी दिनहरुमा कलेजलाई नयाँ उचाईमा पुर्याउन सबैको सकारात्मक सल्लाह सुझाबको अपेक्षा गरिएको उनको भनाई छ ।

साधारणसभामा कलेजका सञ्चालक समिति सदस्य डा. भोला रिजाल, डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीले पनि सबैको सहकार्य र सहयोगले कलेज अगाडी बढाउने बताए।
कलेजको २५ औं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

साधारणसभाका अनुसार आर्थिक वर्ष २०८०/८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैयाँ करसहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारणसभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्