धमाधम नियुक्ति गर्दै सरकार, नेप्सेको सीईओ नियुक्तिका लागि पनि गठन भयो सिफारिस समिति

काठमाडौँ । नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन भएको छ ।
देशकै एकमात्र धितोपत्र बजार सञ्चालक कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया पनि अघि बढेको हो ।
यस रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल दुर्घटनापश्चात् उपचार गराएर मन्त्रालय हाजिर भएको पहिलो दिन नै आइतबार यस्तो समिति गठन भएको हो ।
उक्त समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल चयन भएका छन् । अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र डा. खोमराज खरेल विज्ञ सदस्य नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
गत माघ २५ मा नेप्सेका तत्कालिन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल समाप्त भएको थियो । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा प्रतिस्पर्धा गरे पनि नियुक्त हुन नसकेका कार्की कार्यकाल सकेरै बाहिरिएपछि नेप्सेमा सीईओ रिक्त रहँदै आएको थियो ।
तत्कालिन व्यवस्याका निम्ति नेप्से सञ्चालक समितिको माघ २५ मै प्रबन्धक निरञ्जन फुयाँललाई कायममुकायम सीईओको जिम्मेवारी दिएको थियो।
नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आफ्नो काम सकेको भोलिपल्टै सरकारले नयाँ निकायको प्रमुख नियुक्ति गर्ने प्रक्रिया थालेको छ ।