कान्ति अस्पताललाई १००० शैय्या पुर्याउन जापानी सहयोग खोज्दै सरकार, मन्त्री पौडेलले अघिसारे यस्तो प्रस्ताव « Arthapath.com
२४ असार २०८२, मंगलबार

कान्ति अस्पताललाई १००० शैय्या पुर्याउन जापानी सहयोग खोज्दै सरकार, मन्त्री पौडेलले अघिसारे यस्तो प्रस्ताव



काठमाडौं । कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् ।

नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरेका हुन् ।

मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ–सहयोगको अपेक्षा गरेको मन्त्री पौडेलले बताए ।

त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको जवाफ दिएका छन् । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गरेका थिए ।

त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भइरहेको मन्त्रालयले बताएको छ । यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे खोजी भएको हो ।


प्रतिक्रिया दिनुहोस्