के होलिमा चन्द्र ग्रहण लाग्दै छ ? चन्द्रमा किन देखिँदै छ ‘रातो’ ?

काठमाडौँ । वर्ष २०८१ को अन्तिम ग्रहण चैत १ गते लाग्दै छ । यस दिन पूर्णिमा परेका कारण चन्द्र ग्रहण लाग्ने भएको हो । नेपालको तराई र भारत लगायत क्षेत्रमा होलि पर्व मनाउँदै गर्दा ग्रहण लाग्ने खबरहरुले धेरैलाई झस्काएको छ ।
यो ग्रहण नेपाली समय अनुसार विहान ९ बजेर ४२ मिनेटबाट सुरु हुन्छ । दिउँसो ३ः४५ बजे ग्रहण समाप्त हुने विभिन्न खगोलशास्त्रीहरुले भनेका छन् ।
चन्द्रमालाई मनको कारक मानिन्छ । त्यसैले चन्द्रमामा ग्रहण लाग्दा मानिसहरुको मन उद्वेलित हुने र कयौँ मानिसले गलत निर्णय लिनसक्ने ज्योतिष शास्त्रीय मान्यताका आधारमा ग्रहणको फल निर्धारण गरिएको हुन्छ ।
तर यस पल्टको चन्द्र ग्रहण नेपालबाट भने देखिँदैन । दिउँसोको समयमा ग्रहण लाग्ने भएका कारण यो ग्रहण बार्नु पनि नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
‘ग्रहण त विभिन्न तरिकाले लाग्छ । कति ग्रहण अन्तरिक्षमा लाग्छन्, कति समुद्रमा लाग्छन्, कति पृथ्वी (जमीन)मा लाग्छन्’, ढुङ्गेलले भने, ‘पृथ्वीमा लागेको ग्रहण बार्नु पर्छ । तर जहाँबाट ग्रहण देखिन्छ, त्यहीँमात्रै बार्नुपर्ने हुन्छ ।’
त्यसैले दिउँसोमा लाग्ने चन्द्र ग्रहण र रातीमा लाग्ने सूर्य ग्रहण बार्नु पर्दैन । चन्द्र ग्रहणमा ग्रहण सुरु हुनुभन्दा ९ घण्टा अघिदेखि सुतक लाग्ने भए पनि नेपालबाट ग्रहण नदेखिने भएकाले यो सुतक समेत मान्य हुँदैन ।
यस पालिको ग्रहण मूल रुपमा उत्तर अमेरिकी महाद्वीपबाट देख्न सकिन्छ । दक्षिण अमेरिकामा पनि यो ग्रहण लगभग पूर्ण रुपमा लाग्ने छ । युरोप तथा अफ्रिकाका केही देश र अस्ट्रेलियाबाट पनि ग्रहण देख्न सकिने वैज्ञानिकहरुले बताएका छन् । तर त्यसको समय कम हुनसक्छ ।
नासाले बनाएको नक्साले यस हप्ताको पूर्ण चन्द्रग्रहण पृथ्वीको कुन कुन ठाउँमा देखिनेछ भनेर देखाउँछ।

चन्द्र ग्रहण भनेको सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुगेको अवस्थामा लाग्छ । यी तीन पिण्डहरु सीधा रेखामा परेपछि सूर्यबाट चन्द्रमामा पुग्ने प्रकाश पृथ्वीले रोकिदिन्छ । त्यसपछि चन्द्रमाले प्रकाश परावर्तन गर्न सक्दैन र ऊ प्रकाशबिहिन हुन पुग्छ । यही अवस्थालाई ग्रहण भनिएको हो ।
हरेक समय पृथ्वीको करीब आधा भागमा दिन र आधा भागमा रात हुने गर्छ । सूर्यतिर परेको भागमा दिन हुन्छ, जहाँ चन्द्रमाको प्रभाव रहँदैन । चन्द्रमातिर परेको भागमा चाहीँ ग्रहण लाग्छ । त्यसैले ‘नदेखिने’ ग्रहण बार्नु नपर्ने भनिएको हो ।
यो विषयलाई तलको चित्रबाट अझ स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

किन रातो हुँदै छ चन्द्रमा ?
चन्द्रमाको स्वभाविक रङ्ग सेतो हो । यो कहिले पहेँलो र बेलाबेलामा पूर्णिमाको समय हल्का नीलो रङ्गमा पनि देखिन्छ । तर ग्रहणको बेलामा चन्द्रमा रातो देखिन्छ । चन्द्रमाको सतहमा सूर्यको प्रकाश सीधै पर्न नसके पनि सौर्यमण्डलमा उसको प्रकाश चम्किरहेकै हुन्छ ।
त्यस कारण पृथ्वीको छायाँ पर्दा पनि चन्द्रमा पुर्ण रुपमा कालो बन्दैन र यो रातो जस्तो देखिन पुग्छ । यसैलाई लालचन्द्र अर्थात् अंग्रेजीमा ‘ब्लडी मून’ भनिन थालेको हो ।
