सार्वजनिक ऋणको चेपुवामा सरकार, ८ महिनामै थपियो झण्डै साढे २ खर्ब

काठमाडाैं। चालु आर्थिक वर्षको ८ महिनामा सरकारको थाप्लोमा झण्डै साढे २ खर्ब सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४६.९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।
कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये १३ खर्ब १५ अर्ब ५७ करोड आन्तरिक र १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ बाह्य रहेको कार्यालयले बताएको छ । जुन आन्तरिक ऋण जीडीपीको २३.०६ र बाह्य २३.८५ प्रतिशत हो ।
चालू आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्ति भएको छ।