ट्रम्पको नयाँ कर नीतिले विश्व अर्थतन्त्र प्रभावित, भारतलाई २६ प्रतिशत ट्यारिफ लाउँदा नेपाललाई १० प्रतिशत

काठमाडाैं । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध पछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलमा अमेरिका प्रवेश गर्ने सबै सामानहरूमा नयाँ आयात कर घोषणा गरेका छन्।
उनको योजनाले गत वर्षको ह्वाइट हाउस अभियानको क्रममा उनको प्रस्ताव अनुरूप सबै आयातहरूमा १० प्रतिशतको आधारभूत कर निर्धारण गर्दछ।
ह्वाइट हाउसले युरोपेली संघ र चीन सहित ‘सबैभन्दा खराब अपराधी’ भनेर वर्णन गरेका लगभग ६० व्यापार साझेदारहरूका वस्तुहरूले उच्च दरको सामना गर्नुपर्नेछ।
यी मुलुकहरूबीच व्यापार युद्ध बढ्दा अमेरिकामा समेत सुस्त आर्थिक वृद्धिदर तथा उच्च मूल्य वृद्धि हुने विश्लेषकहरूले बताएका छन् । साथै विश्वका कतिपय देश आर्थिक मन्दीमा डुब्न सक्ने आँकलन गरिएकाे छ ।
ट्रम्पले भने, ‘याे कदम आर्थिक स्वतन्त्रताको घोषणा’
बुधबार ह्वाइट हाउसमा ट्रम्पले अन्य देशहरूले उच्च शुल्क र अन्य व्यापार अवरोधहरू लगाएर अमेरिकाको फाइदा उठाइरहेकाेले याे कदम आवश्यक रहेकाे बताए । ट्रम्पले यसलाई अमेरिकाकाे आर्थिक स्वतन्त्रताको घोषणा भनेका छन् ।
ट्रम्पले भने, ‘आज हामी अमेरिकी कामदारको पक्षमा उभिरहेका छौं र अन्ततः अमेरिकालाई पहिलो स्थानमा राख्दैछौं। अमेरिकी इतिहासको सबैभन्दा महत्त्वपूर्ण दिनहरू मध्ये याे एक हाे ।’
यस्तै राष्ट्रिय आपतकाल घोषणा गर्दै रिपब्लिकन राष्ट्रपतिले अमेरिकालाई पाँच दशकदेखि यस देशका निकट र टाढाका तथा मित्र र शत्रुहरूले समान रूपमा लुटेकाे बताए ।
ह्वाइट हाउसका अनुसार अमेरिकाले अप्रिल ५ मा १० प्रतिशत शुल्क लगाउन सुरु गर्ने छ भने केही राष्ट्रहरूका लागि उच्च शुल्क ९ अप्रिलदेखि सुरु हुनेछ।
कुन देशलाई कति प्रतिशत कर लाग्छ ?
अप्रिल ९ देखि लागु हुने विशेषकरहरूमा अमेरिकाले चीनलाई ५४ प्रतिशत, भारतलाई २६ प्रतिशत, कम्बाेडियालाई ४९ प्रतिशत, भियतनामलाई ४६ प्रतिशत, थाइल्याण्डलाई ३६ प्रतिशत, ताइवानलाई ३२ प्रतिशत, दक्षिण अफ्रिकालाई ३० प्रतिशत, जापानलाई २४ प्रतिशत र युराेपलाई २० प्रतिशत कर लगाइएकाे छ ।
यस्तै नेपाल लगायत अन्य देशहरूमाथि १० प्रतिशत आधारभुत ट्यारिफ लगाइउकाे छ ।
अमेरिककाकाे यस घाेषणाले निर्यातका लागि व्यापक रूपमा अमेरिकामा निर्भर क्यानडा र मेक्सिको उल्लेख्य रूपमा प्रभावित हुन सक्ने र आर्थिक मन्दीमा जानसक्ने विश्लेषण गरिएकाे छ ।
बुधबारको कारबाहीबाट छुट दिइएका तामा र औषधि जस्ता विशिष्ट वस्तुहरूलाई छुट्टै शुल्क लगाइने ट्रम्पले आफ्नो मनसाय दोहोर्याए।
नेपालकाे निर्यातमा थप भार
अमेरिकाले नेपालमाथि समेत १० प्रतिशत कर लगाउने घाेषणागरेसँगै नेपालकाे निर्यात व्यापार समेत प्रभावित बन्ने छ ।
नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा गलैचा, कुकुर र बिरालोको आहारा अर्थात् छुर्पी, ऊनी र फेल्टका सामान, तयारी पोसाक, ग्लासवेयर, पस्मिना सल, सारयुक्त तेल, सङ्गीतका सामान, नेपाली हातेकागज तथा क्रिसमसका सामग्रीहरूलगायत पर्छन्।
नेपालबाट अमेरिका निकै थाेरै वस्तु निर्यात भए पनि नयाँ कर नीतिले निर्यात व्यापारमा संलग्न नेपाली व्यवसायीलाई भार बढ्ने भएको छ।
नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौता भएको थियो। उक्त सम्झौताअन्तर्गत व्यापार, लगानी र प्राविधिक साझेदारी बढाउने उद्देश्य राखिएको थियो। त्यसपछि अमेरिकी सरकारले २०७२ सालको भूकम्पपछि दिएको एनटीपीपीको सुविधा दिएको थियो। उक्त सुविधाको पनि यसै वर्षको डिसेम्बरमा सकिँदै छ। यद्यपी अमेरिकाले दिएको उक्त सुविधाले समेत नेपालको निर्यात बढ्न सकेको छैन ।
अप्रिल ५ देखि लागु हुने १० प्रतिशत आधारभूत शुल्कमा संयुक्त अधिराज्य सिंगापुर, ब्राजिल, अष्ट्रेलिया, न्यूजील्याण्ड, टर्की, कोलम्बिया, अर्जेन्टिना, एल साल्भाडोर, संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया रहेका छन् ।