राष्ट्र बैंकको गभर्नरमा अधिकारीको पाँच वर्ष, ‘घर–जग्गा’ सहित कति बढाए कुल सम्पत्ति ?

काठमाडौं । हालसालै निवर्तमान बनेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति झन्डै साढे २३ लाख रुपैयाँ बढेको छ ।
गत शुक्रबारबाट आफ्नो पाँच वर्षे कार्यकाल बिताएर बिदा लिएका गभर्नर अधिकारको कुल सम्पत्ति साढे तीन करोड पुगेको छ । निवर्तमान गभर्नर अधिकारीले सार्वजनिक गरेको आफ्नो कार्यकालको आम्दानीसहितको सम्पत्ति विवरणले यस्तो देखाएको हो ।
उनी २०७६ चैत २५ गते गभर्नरमा नियुक्ति भएका थिए । त्यसयता उनको सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँ बढेको छ । यद्यपि, यो बैंकहरुको डलर खातामा रहेको रकम बाहेकको हो । डलर खातामा भने उनको २ हजार ३०२ बाट बढेर २८ हजार ६०८ पुगेको छ ।
उनी गभर्नर नियुक्ति हुँदा ३ करोड ४५ लाख ९१ हजार रुपैयाँ बराबरको सम्पत्ति थियो । तर, सेवानिवृत्त हुँदा भने बढेर ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
हाल उनीसँग ३२ लाख रुपैयाँ लागतको २२ सय वर्ग फिटको घर छ भने १ करोड ८ लाख ५१ हजार रुपैयाँ लागतको १० कित्ता जग्गा छ । गभर्नरको कार्यकाल सकिँदासम्म उनले कुनै पनि घरजग्गा खरिद नगरेको विवरणमा उल्लेख छ । हाल भएका घरजग्गा उनी गभर्नर नियुक्ति हुँदा बखत कै हुन् ।
यस्तै, सो अवधिमा उनले ४ लाख ८५ हजार रुपैयाँ बराबरको नगद, सुन, चाँदी थप जोडेको देखिन्छ । २०७६ चैतमा उनीसँग नगद, सुन, चाँदी ५ लाख ३ हजार रुपैयाँ बराबरको थियो । तर, चैत २२ २०८१ मा आइपुग्दा भने बढेर ९ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, बैंक मौज्दात तथा सञ्चय कोषमा भने २८ लाख ४४ हजार २१२ रुपैयाँ, म्युचुअल फन्ड लगायतको सुरक्षणपत्रमा लगानी १ करोड ८९ लाख ४९ हजार ९७३ रुपैयाँ पुगेको छ । जबकि, उनी नियुक्ति हुने बेलामा यस्तो रकम क्रमशः १३ लाख ८८ हजार ३६२ रुपैयाँ र १ करोड ५७ लाख ९० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
अधिकारीसँग १० लाख ३ हजार रुपैयाँ बराबरको सवारी साधान रहेको उल्लेख गरेका छन् । अन्य सम्पत्ति भने १५ लाख १० हजार रुपैयाँ बराबरको रहेको देखिन्छ । विवरण अनुसार खुद प्राप्त हुनुपर्ने रकम भने २४ लाख ९ हजार ९२३ रुपैयाँ ऋणात्मक देखिन्छ ।