स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका समस्या पहिल्याउन सुझाव « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका समस्या पहिल्याउन सुझाव



काठमाडाैं । अंग्रेजी वर्ष सन् २०२४ को ११ महिनामा नेपालमा १० लाख ५७ हजार पर्यटक आएका छन्, जसमध्ये १ लाख ११ हजार विभिन्न स्थलमार्ग हुँदै प्रवेश गरेका छन् ।

नेपालले अहिलेसम्म हवाई जहाज चढेर आउने भारतीयलाई मात्र पर्यटक मान्दै आएको छ । तर, पछिल्लो समय स्थलमार्गबाट समेत खर्चालु पर्यटक आउने क्रम बढिरहेको छ । सौराहा, लुम्बिनी, पोखरा तथा तराईं भेगका विभिन्न पर्यटकिय स्थलहरुमा स्थलमार्ग हुँदै आउने भारतिय पर्यटकको संख्या बढ्दो छ ।

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरू मध्ये धेरैजसो आफ्नै सवारीसाधन लिएर प्रवेश गर्छन् । भारतीय मोबाइल वालेट वा अन्य डिजिटल भुक्तानी नेपालमा स्वीकार्य हुन थालेको छ । तथापि कारोबार सहजताका लागि भारतीय नागरिकहरूले भारतीय मुद्रा लिएर नेपाल आउँछन् । कतिपय सीमा क्षेत्रमा भारतीयका भारतीय परिवार आफ्नो वैवाहिक कार्यक्रम गर्न नेपालका पर्यटकीय क्षेत्रमा आउन रुचाउँछन् । वैवाहिक कार्यक्रममा आउँदा आफ्नो परम्परा अनुरूपको गहना र कपडा ल्याउनु स्वाभाविक हो।

सीमा क्षेत्रका भारतीयहरू मात्र नभएर भारतका विभिन्न प्रदेशबाट आफ्नै सवारीसाधन लिएर नेपालका पर्यटकीय गन्तव्यहरूमा आउने गर्छन् । आफ्नै सवारीसाधन लिएर आउने पर्यटकका कारण राजमार्ग क्षेत्रका होटेल तथा पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तार भएको बताउँछन्।

वैवाहिक कार्यक्रमका लागि वा मनोविनोदका लागि आफ्नो सवारीसाधन लिएर आउने भारतीय पर्यटकहरू ठाउँ ठाउँमा झमेला हुने हुँदा यस्ता पर्यटक बढ्न नसकेकाले आफ्नो व्यवसाय प्रभावित भएको वा सोचे अनुरूपको वृद्धि हुन नसकेको भन्ने सम्बन्धित व्यवसायी तथा स्थानीय उद्योग वाणिज्य संघहरूको धारणा छ ।

विदेशी पर्यटक नेपाल प्रवेश गर्दा ५ हजार अमेरिकी डलर बराबरको परिवत्र्य मुद्रा ल्याउन पाइए पनि सो भन्दा बढी ल्याएमा भन्सार कार्यालयमा घोषणा गर्नु पर्ने व्यवस्था छ ।

भन्सार ऐनको दफा ९ (३) बमोजिम विदेशी यात्रुल ५० ग्रामसम्म सुनको गहना र १०० ग्रामसम्म चाँदीका गहना ल्याउन सक्छन् । त्यो भन्दा बढी ल्याएमा भन्सार कार्यालयमा डिपोजिट राखेर पछि नेपाल बाहिर फर्किंदा भन्सार कार्यालयले फिर्ता दिनु पर्ने व्यवस्था गरेको छ । यदि विदेशी यात्रुले उपरोक्त परिमाण भन्दा बढीको गहना आफैसँग लैजान चाहेमा गहनाको मुल्यको २० प्रतिशत रकम धरौटी राखी लैजान सक्छन र पछि फर्कंदा लगेको परिमाण जस्ताको तस्तै रहे पुरै धरौटी फिर्ता दिनु पर्ने व्यवस्था छ ।

प्रदेश सरकारहरूले विदेशमा दर्ता भएका सवारीसाधन आफ्नो प्रदेशमा प्रवेश गर्दा साना तथा मझौला सवारी साधनमा दैनिक शुल्क लगाउने गरेका छन् । लुम्बिनी प्रदेशले साना तथा मझौला सवारीसाधनलाई दैनिक रु. ५०० सम्म र गण्डकी प्रदेशले दैनिक रु. २,००० सम्म बाटो इजाजत दस्तुर लगाउँछन् । सङ्घीय ऐन बमोजिम साना मझौला सवारीको अस्थायी पैठारीमा दैनिक रु. ६०० भन्सार लाग्छ ।

स्थलमार्गबाट आउने पर्यटकहरुले भोग्नु परेका समस्याहरु

स्थलमार्ग नेपाल प्रवेश गर्ने विशेष गरी भारतिय पर्यटकहरुले विभिन्न समस्याहरु भेग्नु परेका छन् । भारतीय पर्यटकहरूले भन्सार ऐन बमोजिम तोकिएको सीमासम्म परिवत्र्य मुद्रा ल्याउन दिइँदैन । ल्याइएको पाइएमा खान तलासी गरी जफत गरिन्छ । नगद जफत भएका भारतीय पर्यटकले नेपालको बारेमा नकारात्मक धारणा निर्माण गर्छन् जसले पर्यटन प्रभावित हुने गरेको छ ।

यस्तै वैवाहिक प्रयोजनका लागि गहना ल्याएका समूहको गहना जफत गरिन्छ भने मूल्यको २० प्रतिशत धरौटी राखेर पनि वैवाहिक प्रयोजनका लागि लैजान दिइँदैन ।

यस्तै उनीहरुले भोग्ने अर्को समस्या भनेको भारतीय नम्बर प्लेटको सवारीसाधनलाई राजमार्ग यात्राको क्रममा ठाउँ ठाउँमा रोकेर सोधपुछ गरी अनाअवस्यक दुख दिने प्रवृति देखिन्छ ।

सरकारलाई सुझाव

यी विविध समस्याहरुले नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई विभिन्न सुझावहरु पेश गरेको छ ।

भारतीय पर्यटकलाई भन्सार ऐन बमोजिम तोकिएको सीमाभित्र परिवत्र्य मुद्रा ल्याउन नरोक्न तथा वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाहको प्रयोजनका लागि ल्याउने सामान घोषणा गर्ने, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने कार्यविधि सरलीकरण गर्न आयोगको सुझाव छ ।

यस्तै नेपाल सरकार र प्रदेश सरकारहरूले तोकेका सवारीसाधन कर प्रवेश नाकामा एकै पटक असुली गर्ने र तिरेको करको विवरण र अवधि खुलेको स्टिकर साधनमा बाहिरैबाट देखिने गरी टाँस्न लगाउने, यस्तो स्टिकर भएको सवारीसाधनलाई राजमार्गमा जहाँ पायो त्यहीँ नरोक्ने तथा निर्बाध गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन समेत आयोगले सुझाव पेश गरेको छ ।

यदि कुनै शंका लागेमा प्रहरीले सूचना प्रणाली प्रयोग गरी अनुगमन गर्ने र सोधपुछ गर्न आवश्यक देखिए गन्तव्यमा पुगे पछि मात्र उक्त काम कारवाहि अगाडी बढाउन समेत सुझाव दिइउको छ ।

यसले नेपाल पर्यटकका लागि सूरक्षित तथा आकर्षक गन्तव्यका रुपमा चिनिनुका साथै स्थलमार्गबाट आउने पर्यटकहरुको संख्या बढ्नमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्