शुक्रबारदेखि भारतबाट १५ घण्टा मात्र बिजुली आयात हुने « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

शुक्रबारदेखि भारतबाट १५ घण्टा मात्र बिजुली आयात हुने



काठमाडौं। भारतबाट आयात हुने बिजुलीको समय थप एक घण्टा घटाइएको छ। पहिले १६ घण्टा आयात हुँदै आएको बिजुली शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणले जनाएको छ। भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनबाट ६ सय मेगावाट बिजुली दैनिक १५ घण्टा आयात गर्ने अनुमति दिएको हो।

यसअघि टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिइएको छ। प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ।

गत मंसिर हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ गतेसम्म दिनको २० घण्टा र चैत ३ गतेदेखि सौर आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो।

गत चैत १५ पछि दैनिक १६ घण्टा बिजुली आयात हुँदै आएको थियो। बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात गरिँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्