प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सीलेन्सको रूपमा विकास गरिने

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सीलेन्सको रूपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नतिजा उन्मुख बनाइनेछ। कार्यसम्पादनको आधारमा गरिने मूल्याङ्कनलाई वृत्ति विकासमा आवद्ध गरिने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले भने, ‘विकास आयोजनाहरूको नतिजामूलक अनुगमन गरिनेछ, अनुगमन गर्ने निकायले गरेको कामको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनको पनि अनुगमन गरिने छ।’
यस्तै उनले सुशासन र छरितो प्रशासनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्च स्तरीय शासकीय सुधार आयोगले निर्देश गरे बमोजिम क्रमशः सुधारका कार्यहरू अघि बढाइने बताए।
निर्णय प्रक्रियामा सरलीकरण र प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि इ-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने उनकाे भनाइ छ।
‘सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको पहुँच सुनिश्चित गर्न निरन्तर सूक्ष्म निगरानी गरिनेछ। हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि रेपिड रेस्पन्स टिम परिचालन गरिनेछ’ उनले भने ।
यस्तै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने, सरकारी निकायहरूमा पारदर्शिता र जबाफदेहिता वृद्धि गर्न भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति र कार्य योजना कार्यान्वयन गरिने उनले बताए ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकायहरूको काम कारबाहीलाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाइनेछ । तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्ति दुरुपयोग नियन्त्रणमा यी निकायहरूको भूमिका थप सुदृढ बनाइनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ।