पर्यटक आगमनमा उल्लेख्य वृद्धि, अप्रिलमा मात्र १ लाख १६ हजार विदेशी पर्यटक भित्रिए « Arthapath.com
२० बैशाख २०८२, शनिबार

पर्यटक आगमनमा उल्लेख्य वृद्धि, अप्रिलमा मात्र १ लाख १६ हजार विदेशी पर्यटक भित्रिए



काठमाडाैं । सन् २०२५ को अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डकाे तथ्यांक अनुसार अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

यस वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा ४ लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।


प्रतिक्रिया दिनुहोस्