धितोपत्र व्यवसायी नियमावलीमा संशोधन गर्न ब्रोकरले धितोपत्र बोर्डलाई दियो यस्तो सुझाव « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

धितोपत्र व्यवसायी नियमावलीमा संशोधन गर्न ब्रोकरले धितोपत्र बोर्डलाई दियो यस्तो सुझाव



काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेट गरेको छ। सोमबार ब्रोकर संघका पदाधिकारीहरू र धितोपत्र बोर्डका अध्यक्ष तथा बोर्डका उच्च व्यवस्थापनबीच छलफल भएको हो।

त्यस क्रममा ब्रोकर संघका अध्यक्ष सागर ढकालले धितोपत्र व्यवसायी नियमावलीमा संशोधन प्रस्ताव पेश गरेका छन् । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली, २०६४ को प्रस्तावित संशोधनमा एशोसिएसनले संसोधनको प्रस्ताव पेश गरेको हो ।

ब्रोकरको रुपमा कार्य गरिरहेका वाणिज्य बैंकका सहायक कम्पनीले आफ्नो मुख्य कम्पनी वा मुख्य कम्पनीका अन्य सहायक कम्पनीको धितोपत्र स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था गर्न संघले आग्रह गरेको छ । हाल नियमावलीमा त्यस्ता ब्रोकरले आफ्नो मुख्य कम्पनी वा सहायक कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ। बैंकका सहायक कम्पनीको रुपमा रहेका ब्रोकरले सेयर कारोबार गर्नेबारे द्विविधा उत्पादन भएकोले यो संशोधन गर्न संघले आग्रह गरेको हो ।

ब्रोकरले न्युनतम चुक्तापुँजी पुर्याउनु पर्ने समय थप गरेर २०८४ साल असारसम्म कायम गर्न पनि संघले आग्रह गरेको छ। २०८२ असारसम्म तोकिएको पुँजी पुर्याउन असम्भव हुने भएकोले संघले २ वर्षको अवधि थप गर्न माग गरेको छ। धितोपत्र दलाल सेवा सञ्चालन गरेको १ आर्थिक वर्ष पुरा भएपश्चात धितोपत्र दलाल कम्पनीको प्राथमिक पूँजी रु.२ करोडको व्यवस्था रहेकोमा दश गुणाले वृद्धि गर्ने व्यवस्था गरिएको र समयसीमा एकदम थोरै रहेकोले र २०८२ असार भित्र पूँजी वृद्धि असम्भव प्रायः रहेको भन्दै यस्तो आग्रह गरेको हो ।

सेयरबजारमा सूचीकृत रहेका कम्पनीका कर्मचारीलाई ब्रोकर कम्पनीमा कर्मचारी राख्न सकिने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ। बैं

ब्रोकरहरुलाई थप सेवा प्रदान गर्ने अनुमति पनि संघले मागेको छ। ब्रोकर संघले सीमित कार्य गर्ने ब्रोकरलाई ग्राहकको आदेश अनुसार धितोपत्र खरिद बिक्री गर्ने सेवा, केन्द्रिय निक्षेप सेवा अनुमति, राफसाफ सदस्यता अनुमति, प्रोप्राइटरी कारोबार अनुमति, मार्जिन कारोबार सम्बन्धी कार्य गर्न अनुमति, र लगानी व्यवस्थापन सेवाको अनुमति दिन माग गरेको छ ।

त्यस्तै पूर्ण कार्य गर्ने ब्रोकरलाई माथिका सेवा सहित लगानी एडभाइजरी सेवा, ‘बोर्डले तोके बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने अनुमति, धितोपत्र दलाल सेवा सञ्चालन गरेको १ आर्थिक वर्ष पुरा भएपश्चात धितोपत्र दलाल कम्पनीको आईपीओ निष्काशनको अनुमति दिन संघले आग्रह गरेको छ।

त्यस्तै स्टक डिलरले माथि उल्लेखित सबै सेवा सहित, म्युचुअल फण्ड म्यानेजर सम्बन्धी कार्य गर्ने, धितोपत्र निष्काशनमा प्रत्याभूतिकर्ताको कार्य गर्ने, र धितोपत्र बजारको अनुमति लिई तोकिएको कम्पनीमा दुई तर्फि खरिद बिक्री गर्न आदेश दिन पाउने गरी बजार निर्माताको कार्य गर्ने अनुमति दिन संघले आग्रह गरेको छ ।

ब्रोकरले आफ्नो सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी निजहरुको एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गर्न पनि संघले आग्रह गरेको छ। यस्तो कारोबारको विवरण ब्रोकरहरुले हरेक त्रैमास सकिएको ७ दिन भित्र बोर्डलाई उपलब्ध गराउने प्रस्ताव पनि संघले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्