धितोपत्र बोर्डले भन्यो, ‘अध्यक्षलाई जोडेर बनाइएका समाचार तथ्यहीन, कपोकल्पित र भ्रामक छ’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्षलाई जोडेर तथ्यहीन, आधार विहीन, कपोकल्पित र भ्रामक आरोप लगाउँदै समाचार प्रकाशित भएको भन्दै बोर्डको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालमार्फत प्रकाशित समाचार तथ्यहीन, आधार विहीन, कपोकल्पित र भ्रामक रहेको दाबी गरेको हो ।
पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखिएको भन्दै बोर्डले आपत्ति जनाएको छ ।
यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाईदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराई दिनु भएमा सम्बन्धित उपर आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाइने समेत बोर्डले जनाएको छ ।
