करदाताको साथ बिना वडा अघि बढ्दैन : अध्यक्ष महर्जन « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

करदाताको साथ बिना वडा अघि बढ्दैन : अध्यक्ष महर्जन



काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले स्थानीय सेवा सञ्चालन व्यवस्थापन गर्न उत्तरदायी करदाताको अपेक्षा गरेको बताए ।

उनले आर्थिक सामाजिक क्षेत्रको सन्तुलित विकासका लागि सरकार र नागरिकको समान दायित्व हुने बताए । खिचापोखरी न्युरोड व्यापार संघसँग सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जन्मदेखि मृत्यु पर्यन्तका सुख दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्न स्थानीय करप्रति जिम्मेवार हुन आग्रह गरे ।
प्रचलित व्यवस्थाले तोके बमोजिम कर तिर्नु नागरिकको पहिलो दायित्व भएको बताउँदै समयमा कर तिर्ने दायित्व बोध गर्न उनको आग्रह छ ।

कार्यक्रममा वाणिज्य विभागका निर्देशक जगदिश अर्यालले व्यापारिक बस्तु र सेवाको गुणस्तरका बारे प्रस्तुतिकरण गर्दै सामानको मूल्य, खरिद विल र विक्री बिल, सामानको गुणस्तर जस्ता विषय व्यवसायीका अनिवार्य शर्त रहेको उल्लेख गरे ।

सोही अवसरमा महानगरपालिकाको वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले महानगरपालिकालाई बुझाउनु पर्ने बिज्ञापन कर, मनोरञ्जन कर, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय करका सिद्धान्त र व्यवहारका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

स्थानीय तहलाई बुझाएको कर स्थानीय विकासमा खर्च भएको तत्काल अनुभूत गर्न सकिने अधिकारीको भनाइ थियो ।

छलफलमा व्यवसायीहरुले रेष्टुरेन्टहरुले प्रदान गर्ने सेवाअनुसारको मूल्य सूची हुने बताउँदै कहिलेकाही सेवा नहेरी मूल्य मात्र हेरिदिँदा समस्या सिर्जना हुने गरेको बताए ।

थोक मूल्य र खुद्रा मूल्यको कुरा गर्दै व्यवसायीहरुले सबै कारोबारहरुले खरिद बिल र विक्री बिलको प्रयोगलाई अनिवार्य गराउने वातावरण भए मात्र पूर्ण प्रयोग नगरेका कारण चाहेर पनि व्यवस्थित गर्न नसकिएको धारणा राखे ।

वडा नम्बर २२ क्षेत्र महानगरपालिकाभित्रको प्रमुख व्यवसायिक स्थानमध्येको एउटा हो । नयाँ सडक, शुक्रपथ, खिचापोखरी, सुन्धारालगायत स्थान व्यापारिक क्रियाकलापकै कारण परिचित छन् ।

वडा सचिव ज्ञानेन्द्र विवशका अनुसार वडाभित्र ९ हजार १५० व्यवसाय दर्ता छन् । वडामा ३ हजार १३ जना सम्पत्ति करदाता छन् ।


प्रतिक्रिया दिनुहोस्