५ अर्बमा खुल्यो नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी, उच्च प्रतिफल र सुरक्षित लगानीको प्रतिवद्धता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वमा रहेको ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले आफ्नै केन्द्रिय कार्यालयको स्थापना गरेको छ ।
लगानी विविधीकरणमा आक्रामक नेपाल लाइफले सहायक कम्पनीले ‘नेपाल लाइफ इन्भेष्टमेन्ट’ को केन्द्रिय कार्यालय बिहीबार एक समारोहका बीच समुदघाटन गरेको हो ।
कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको केन्द्रिय कार्यालय बिहीबार नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी र कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ । कुल लगानी भने ५ अर्ब रुपैयाँ छ ।
उदघाटनपछि प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले प्राधिकरण जहिले पनि लगानी विविधिकरणको पक्षमा रहेको बताए । बीमितद्वारा संकलित रकमलाई लाभदायक क्षेत्रमा लगानुपर्ने बताए । लगानी विविधिकरणका लागि पनि नेपाल लाइफ इन्भेष्टमेन्ट जस्ता धेरै कम्पनीहरु स्थापना हुनुपर्ने उनले बताए ।
‘एकदमै तल्लो तहका मानिसहरुबाट गिट्टी कुटेर जम्मा गरेको पैसा, मध्य वर्गले जागिर गरेर र उच्च वर्गका मानिसहरुले व्यापार व्यवसाय गरेर जम्मा गरेको पैसा तपाईहरुको कोषमा जम्मा भएर बसको छ । यो आम्दानी भन्दा पनि जिम्मेवारी हो, दायित्व हो । यसलाई कम्पनीले संरक्षण गर्नुपर्छ’, उनले भने ।
सोही अवसरमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले सुरक्षित र प्रतिफल दिने क्षेत्रमा लगानी गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको बताए । उनले बीमितबाट संकलित बचत रकमलाई लाभदायक क्षेत्रमा लगानी गरिने बताए । प्रतिफल सुनिश्चित गर्न सकिने क्षेत्रहरूमा मात्र लगानी गरिने स्पष्ट पारे । ‘जोखिम व्यवस्थापनसहित सुनिश्चित प्रतिफल दिने क्षेत्रमा मात्रै लगानी गर्ने नीति लिएका छौं’, उनले भने ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पीका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च प्रतिफल दिने गरि कम्पनी स्थापना गरिएको बताए । राम्रा दीर्घकालिन र गुणस्तरीय योजनाहरु छिट्टै नै ल्याउने अग्रवालको भनाई छ । ‘सुरक्षा र उच्च प्रतिफलका लागि कम्पनीले प्रतिवद्ध रहने छ । हरेक क्षेत्रमा प्रतिफल र आम्दानी आवश्यक छ । हामी बीमा ऐन अनुसार नै लगानी विभिन्न क्षेत्रलाई समेटेर अघि बढ्छौं’, उनले भने ।
यता, नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कुमार कयालले पनि लाभदायक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाए ।
उनले उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गरिनेमा जोड दिए । सोही अवसरमा कम्पनीका सीइओ सुवास थापाले पनि दीर्घकालिन लगानीमा ध्यान दिने बताए । बीमित र जनताहरुद्वारा संकलित रकमलाई उचित प्रतिफल आउने गरि सुरक्षित र सहि क्षेत्रमा लगानीको सदुपयोग गरिने बताए ।